उपत्यकामा संक्रमितहरूको संख्या बढ्दै गएपछि मछिन्द्रनाथको रथारोहण स्थगित
कोरोनाभाइरस महामारीको असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ । भोलि हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको छ।
बन्दाबन्दी खुकुलो भएपनि उपत्यकामा संक्रमितहरूको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धी कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको छ।
रथ निर्माणको कार्य १० असारबाट शुरु भएको थियो । यसअघि बन्दाबन्दीको कारण २८ चैतमा पनि रथानिर्माणको काम स्थगित भएको थियो।
वैशाख कृष्ण पक्षको प्रतिपदाबाट शुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।
यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि शुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा शुरु गर्ने चलन छ।