बन्दाबन्दीमा व्यापारिक घरानाहरूले निष्कासन गर्न थालेपछि श्रमिकहरू आन्दोलित
कोरोनाको कारण देखाउँदै देशका व्यावसायिक घरानाहरूले सञ्चालन गरेका प्रतिष्ठित उद्योग प्रतिष्ठानबाट कर्मचारी कटौती हुन थालेपछि श्रमिक कर्मचारीहरू आन्दोलित बनेका छन्।
गोल्छा अर्गनाइजेशन, आईएमई ग्रुपको आईएमई मोटर्स, जगदम्बा लगायत उद्योग प्रतिष्ठानका सञ्चालनकहरूले कर्मचारी कटौती गरेपछि श्रमिकहरु आन्दोलित भएका हुन्।
कर्मचारी कटौती गर्ने गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा आगामी महाधिवेशनबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि बन्दैछन्। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गरेका छन्।
यी उद्योगी व्यवसायीहरूबाट सञ्चालित उद्योग प्रतिष्ठानहरूले नै कोरोनाको बाहानामा कर्मचारी कटौती गरिरहेका छन् । गोल्छा अर्गनाइजेशनले, आईएमई मोटर्स र जगदम्बा लगायतका कम्पनीहरुले नियतवश २ हजार बढी कर्मचारी कटौती गरेको अखिल नेपाल अटोमोबाइल्स मजदुर संघका अध्यक्ष पुरञ्जन गिरीले बताए।
बागमती प्रदेशका प्रदेशसभा सदस्य जगतबहादुर सिंम्खडाले उद्योग प्रतिष्ठान र श्रमिक दुवै पक्षलाई बचाउन सरकार अन्य संघसंघस्थाहरूसँग छलफल भइरहेको बताए। उद्योग प्रतिष्ठानहरूले कर्मचारी कटौती भन्दा श्रम कटौती गर्नुपर्ने बताए। उनले उद्योग व्यवसायहरुले कम्तीमा पनि ५० प्रतिशत तलब भुक्तानी दिनुपर्ने बताए।
मजदुरहरूलाई दैनिक गुजारा गर्न समेत कठिनाइ उत्पन्न भएको अवस्थामा व्यवसायीहरुले योजना बनाएर श्रमिक कटौतीको प्रक्रिया अगाडि बढाएको प्रति संगठनहरूले ध्यानाकर्षण भएको बताएका छन्।
सरकारले सम्बन्धित क्षेत्रको नियमन, सञ्चालन र कारवाहीका लागि एेन नियम बनाएपनि त्यसको व्यावहारिक रुपमा कार्यान्वयन नभएको ठहर अखिल नेपाल अटोमोबाइल्स मजदुर संघले गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संघले अटो मोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरूलाई रोजगारविहीन बनाउने योजनाको सशक्त रुपमा प्रतिराेध गर्ने जनाएको छ।
सहमति र सहकार्यको माध्यमबाट श्रमिकको रोजगारी जोगाउने विषयमा जुनसुकै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै संघले आफ्नो आग्रहलाई लत्याए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।