बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा बढे कोरोना संक्रमित, देशभर थपिए २०४ जना संक्रमित
सरकारले बन्दाबन्दी केही खुकुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम भए पनि बन्दाबन्दीको अवधिभन्दा बढी भेटिएका हुन्।
मंगलबार २८ जना संक्रमित भेटिएका छन् । बन्दाबन्दी खुकुलो भएसँगै आवतजावत बढेकाले उपत्यकामा संक्रमितको संख्या बढेको हो।
मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यका भित्रका संक्रमितको संख्या २६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन्।
रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरि लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोबीघाट, भैंसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन्।
विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए । मंगलबार देशभरि २०४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६१६८ पुगेको छ।
प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ।
सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ।
पीसीआर विधिबाट मंगलबार ६१३३ वटा परीक्षण भएका छन् । आजसम्म कुल २६१८६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल २५७२७ जना क्वारेन्टिनमा रहेका छन्।
देशभरिका विभिन्न अस्पतालमा ८६३४ जना संक्रमित उपचाररत छन् । मंगलबार ६८८ गरी आजसम्म ७४९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ।
सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवती महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ।
उनीहरूको स्वाब संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाब राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ।