हिंसा पीडितलाई सार्वजनिक गर्दा संवेदनशील नभए सरकारले कारबाही गर्ने
सरकारले हिंसा पीडित बालिका, किशोरी तथा महिलाहरूको घटना सार्वजनिक गर्दा संवेदनशील बन्न आग्रह गर्दै त्यसो नगरिए कारबाही गर्ने चेतावनी दिएको छ ।
महिलाको बाँच्न पाउने हकको हनन हुने गरी उनीहरूको बारेमा सामाजिक सञ्जाल तथा कतिपय सञ्चारमाध्यमहरु यस्तो कुरामा असंवेदनशील भएको भन्दै गम्भीर हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज (२३ असारमा) एक सूचना जारी गर्दै भनेको छ, ‘लैंगिक हिंसासँग सम्बन्धित विषयहरु विशेष गरी बलात्कार, बलात्कार प्रयास, यौनजन्य, दुव्र्यवहारले पीडितको सम्मानित भएर बाँच्न पाउने हक हनन भइरहेको छ । तर पनि यस्ता घटनाका पीडितहरुको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा विभिन्न खालका संचारमाध्यमहरुले भिडियो खिचेर सार्वजनिक गर्ने गरेको पाइएको छ ।’
मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले निकालेको सूचनामा पीडितसँग कुरा गर्दा उनीहरूलाई विगतको घटनाले झन् पीडा दिने र त्यसले झन् ठूलो असर पर्ने भएकाले पीडित/प्रभावितहरूसँग कुरा गर्दा र ती कुराहरू सार्वजनिक गर्दा गम्भीरताका साथ संवेदनशील हुन भनिएको छ ।
यदि त्यसो नगरेर महिलाको बाँच्न पाउने हकको हनन हुने गरी उनीहरुको बारेमा सार्वजनिक गरिएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।