रिपोर्ट मंगलबार, असार २३, २०७७

बच्चा जन्माउनकै निम्ति भारतबाट कैलालीसम्म आइपुग्छन् डल्फिनहरू

हिमालखबर

बच्चा जन्माउनकै निम्ति भारतबाट कैलालीसम्म आइपुग्छन् डल्फिनहरू

उन्नती चौधरी, कैलाली

सुदूरपश्चिम प्रदेशको कैलाली डल्फिन पाइने पर्यटकीय क्षेत्रका रुपमा परिचित ठाउँ हो । भारतका विभिन्न नदीहरूसम्म पुग्ने र त्यहाँका नदीहरूबाट कैलालीसम्म फर्कि आउने डल्फिन पर्यटकको आकर्षणमध्ये एक हो।

कैलालीको टीकापुरमा एक यस्तो ठाउँ छ, जहाँ डल्फिन माछा बच्चा जन्माउनकै निम्ति भारतबाट यहाँसम्म पुग्छन् । बसाइँ सरिरहन मन पराउने ग्यांगेटिक जातका डल्फिन प्रजनन् गर्नकै लागि भारतबाट कैलालीका नदीसम्म आइपुग्छन्।

भारतको घाँघरा नदी हुँदै आएका डल्फिन कैलालीको मोहना, पथरैया, काँडा र गैरी खोलाको दोभानमा आएर प्रजनन् गर्छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले पछिल्लो समय सो क्षेत्रलाई डल्फिन बेबीजोनकै रुपमा चिनिन थालेको बताए।

उनले मनसुन सिजनभर यहाँका नदीहरूमा देखिने डल्फिनले पर्यटनमा ठूलो टेवा पुर्‍याउने गरेको सम्झिदै यो वर्ष कोरोनाका कारणले अवलोकन गर्न आउने पर्यटक घटेको बताए । ३१ जेठमा आमा र बच्चा गरी दुईवटा मात्रै देखा परेको डल्फिन अहिले आएर ५ वटा बच्चा र १० वटा ठूला माउ र वयष्क समेत गरी १५ वटा पुगिसकेको ढुंगानाले जानकारी दिए।

यो प्रजातिका डल्फिनले आँखा एकदमै कम देख्ने गरेको उनको भनाइ छ । विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन वर्षायाममा मात्रै आउने गरेका छन् । उनका अनुसार गत वर्ष असार दोस्राे\तेस्राे सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै मनसुन शुरु भएपछि जेठको अन्तिम सातामै डल्फिन देखिएको उनले बताए।

असारदेखि असोजको महीनासम्म यी नदीमा डल्फिन सजिलै देख्न सकिन्छ । “स्वच्छ र कम गहिरो हुने हुनाले बच्चा हुर्काउन वर्षेनि डल्फिन भारतबाट यहाँ आइपुग्छन् । नदीमा पानीको सतह बढेसँगै यो क्षेत्रमा डल्फिन सहजै देखा पर्ने गर्दछन्,” उनले भने।

विश्वमै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनीका स्थानीय एकजुट हुँदै आएका छन् । नजिकैबाट डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाममा विदेशी तथा आन्तरिक पर्यटकहरू आइरहेका छन्।

गत वर्ष गणना गर्दा ४० देखि ४५ वटा डल्फिन देखिएको ढुंगानाले बताए । उनले डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंग्ल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गरेको बताए । तर स्थानीयले माछा भन्दै मारेर खाने गरेको हुँदा डल्फिन संरक्षण र प्रवर्द्धनका लागि २०५७ सालदेखि डल्फिन जोगाउँदै आएको संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा संरक्षण अभियान थालिएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले रातो सूचीमा राखेको ग्यांगेटिक प्रजातिको डल्फिन कैलालीका सहायक नदीमा मनसुनभरि देखिने गर्दछन् । मनसुन सकिएसँगै डल्फिनहरू पुनः मुख्य नदी कर्णाली हुँदै भारतको घाँघरासम्म पुग्ने गरेको बताउँछन् संरक्षणकर्मी विजयराज श्रेष्ठ।

उनले कर्णाली नदीमा भने वर्षभरि नै डल्फिनको बसोबास रहने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको बताए । मनसुनमा मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान र पथरैया–गैरी खोलाको दोभानमा निकै नजिकबाट डल्फिन अवलोकन गर्न पाइने गरेको संरक्षणकर्मी श्रेष्ठ बताउँछन् । “कैलालीका नदीमा डल्फिन बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । तर, नदीमा प्रदूषण बढ्दै जानु, डल्फिनको आहारा प्रजातिको रुपमा रहेका माछाको जथाभावी शिकार हुनुले संरक्षणमा चुनौती छ,” श्रेष्ठले भने।

विगत केही वर्षयता माहाजाल हालेर माछा मार्नमा बन्देज लगाइएको, नदीहरूमा प्लाष्टिकजन्य वस्तु र मरेका जनावरको सिनो फाल्ने कार्यमा पनि रोक लगाइएको छ।

कोरोना छिछोल्दै आइपुगे आन्तरिक पर्यटक

डल्फिन मन पराउने आन्तरिक तथा बाह्य पर्यटकलाई कोभिड–१९ ले पनि रोक्न सकेन । कोरोना महामारीले यो वर्षको पर्यटन भ्रमण वर्ष प्रभावित भए पनि प्रकृतिप्रेमी पर्यटक भने डल्फिन हेर्न छोडेनन्।

बन्दाबन्दीको बेला नेपालमै फसेका बाह्य पर्यटक इंग्ल्याण्डका दुई र नेदरल्याण्ड्सका एक जना टीकापुर नगरपालिका–७ बैदी पुगेर डल्फिन अवलोकन गरे।

यो वर्ष पनि दैनिक १२ देखि १५ जना डल्फिन आउने गरेको जानकारी ढुंगानाले दिए।

डल्फिन संरक्षणको लागि स्थानीय सरकारको पहल

पछिल्लो अवस्थामा कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकाको मध्यविन्दुमा पर्ने डल्फिन संरक्षण क्षेत्रलाई व्यवस्थित गर्न स्थानीय सरकारले नदी कटान रोक्न तटबन्ध निर्माण गरिरहेको छ।

डल्फिन संरक्षणसँगै नदी कटान रोक्नका लागि टीकापुर नगरपालिकाले ४३२ मिटर र भजनी नगरपालिकाले ८ सय मिटर तटबन्ध, शौचालय निर्माण भएको ढुंगानाले बताए । सो क्षेत्रको गुरुयोजना पनि बनिरहेको छ । डल्फिन हेर्न आउने पर्यटकहरूलाई सहज रुपले आवतजावत गर्न कालोपत्र एकदमै जरुरी रहेको उनले बताए।

प्रतिकृया दिनुहोस