समाचार मंगलबार, असार २३, २०७७

धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्य विकास गरिन्छ: मन्त्री भट्टराई

हिमालखबर

धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्य विकास गरिन्छ: मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सुन्दरता विकास गरिने बताएका छन्। 

नेपाल एसबीआई ब्यांकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्वारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरूलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए।

त्यसका लागि पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरूको पुनर्निर्माण गर्ने र सरसफाइमा उच्च ध्यान दिने कामहरू बाँकी रहेको मन्त्री भट्टराईले जानकारी गराए । पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार पारिएको र मन्त्रिपरिषदद्वारा पारित भएपछि संरचना निर्माणका कार्यहरूले गति लिने उनको भनाइ थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सुन्दरता कायम गरिने बताए । उनले विश्वमा नै हिन्दुहरूको प्रमुख तीर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपति क्षेत्रलाई विकास गरिएको बताए।

कार्यक्रममा नेपाल एसबीआई ब्यांकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले ब्यांकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्वार निर्माण गर्न पाउँदा खुशी लागेको बताए । ब्यांकले पशुपति क्षेत्रको दक्षिण तर्फको प्रवेश द्वार, जुत्ता राख्ने घर, एटीएम घर लगायतका संरचना निर्माण गरेको छ।

प्रतिकृया दिनुहोस