१२ बुँदे सहमतिपछि तोडियो 'इनफ इज इनफ' समूहको अनशन
१२ दिनदेखि अनशनरत 'इनफ इज इनफ' समूहका दुई युवाले मंगलबार अनशन तोडेका छन् । ललितपुरको पाटन दरबार स्क्वायरमा अनशनरत उक्त समूहका युवा बमसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बुँदे सम्झौता गरेपछि उनीहरूले अनशन तोडेका हुन्।
२२ असारमा भएको उक्त सम्झौतामा अनशनरत युवा बम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट डा.रोशन पोखरेल र डा. समीरकुमार अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौतामा विदेशबाट फर्केका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै कोरोना परीक्षण गरेर उनीहरूको इच्छा अनुसार होम वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा राख्ने व्यवस्था गर्ने, होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार गर्ने, जोखिममा रहेकाहरूलाई राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्न अहिलेको निर्देशिकालाई यसै हप्ताभित्र परिमार्जन गर्ने उल्लेख छ।
कोरोनाभाइरस पहिचान गर्नका लागि र्यापिड डायग्नोष्टिक विधिको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्डिङ सेन्टर समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकाहरूलाई अनिवार्य पीसीआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आए मात्र समाजमा पुनर्स्थापना गर्ने, गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार परीक्षण तथा क्वारेन्टिन लगायत बारेको निर्देशिका परिमार्जन गर्ने विषय सम्झौतामा उल्लेख छ।
स्वास्थ्य मन्त्रालयले गरेको सम्झौता अनुुसार अग्रस्थानमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा र सुविधाका बारेमा अहिले भएको सुरक्षा र सुविधा बारेको व्यवस्थालाई प्रष्ट पार्दै अंगभंग, घाइते लगायत हुनसक्ने जोखिमका बारेमा ठोस व्यवस्था गर्ने, कोरोनाभाइरसको रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्ने भनिएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा आेली अनशनरत स्थलमा पुगेर माग पूरा हुने आश्वासन दिंदै अनशन ताेड्न आग्रह गरेका थिए।