भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि कारागार चलान
भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।
झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो। उनलाई झापा कारागारमा राखिएको छ।
झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले १० मंसीर २०७२ मा भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।
झुटा विवरणमा नागरिकता बनाइदिएको खुलेपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौँको गोठाटारबाट नियन्त्रणमा लिएको थियो।
नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीका सूचना अधिकारी थापाले बताए।