हिमालकर्मी बराली युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत
युवा तथा खेलकूद मन्त्रालयले हरेक वर्ष वितरण गर्दै आएको ‘युवा तथा खेलकूद पत्रकारिता पुरस्कार २०७६’ बाट हिमालकर्मी शुष्मा बरालीसहित ६ जना पत्रकार पुरस्कृत भएका छन्।
पत्रकारिताको माध्यमबाट युवा र खेलकूदको विकासको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप हिमालकर्मी शुष्मा बरालीलाई पुरस्कृत गरिएको हो ।
बरालीसहित रत्ना कुमारी चौधरी (रेडियो नेपाल), खगेन्द्र अधिकारी (उज्यालो पोष्ट दैनिक), गीता चिमोरिया (सीआईएन), गंगा खड्का (अन्नपूर्ण पोष्ट) र निरज न्यौपाने (एसडीजी स्टुडियो) छन्।
युवा पत्रकारिता पुरस्कार स्वरुप उनीहरुलाई प्रमाणपत्र र रु. ५० हजार नगदसहित युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले सम्मान गरेका हुन्।
त्यस्तै सम्मानपछि मन्त्री विश्वकर्माले युवा र खेल क्षेत्रको विकास, विस्तारका लागि पत्रकारिताको माध्यमबाट गरिएको योगदानको सम्मान गरिएको बताए।
मन्त्री विश्वकर्माले युवाको अवस्था र आवश्यकतालाई कलम मार्फत प्रस्तुत गरेका र खेल क्षेत्रका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याएको बताए।
‘एन्टी डोपिङ एप’ सार्वजनिक
नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयले खेलकूदलाई सबैको पहुँचमा ल्याउने, खेलकूदको विषयमा जानकारी दिने हेतुले एन्टी डोपिङ मोबाइल एप सार्वजनिक गरेको छ।
नेपाली खेलकूद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई प्रविधिको माध्यमबाट एपमार्फत जानकारी लिन सकिने मन्त्री विश्वकर्माले बताए।
खेलकूदका गतिविधि तथा नेपाली खेलाडीहरुका विषयमा प्राप्त गरेका उपलब्धिलाई डिजिटल माध्यमबाट अभिलेख गरी व्यवस्थित गर्ने योजना रहेको उनले बताए। "नविमतम् सूचना प्रणालीको सही सदुपयोग प्रयोग गरेर खेलाडीले जानकारी लिन सक्छन्," उनले भने, "हामीलाई विश्वास छ उक्त एपले खेलप्रेमी सम्पूर्णका लागि उपयोगी हुने छ।"
नेपालमा खेलकूदको विषयमा पूर्ण रुपमा जानकारीका लागि ६ महीनासम्म निशुल्क प्रयोग गर्न दिइने एप निर्माता डा. वीरेन्द्रराज पोख्रेलले जानकारी दिए। खेलका बारेमा मात्र नभएर प्रशिक्षक र खेलाडीका बारेमा पनि यो एपमार्फत जानकारी पाउन सकिने उनको भनाइ छ।
खेलकूदमा सहभागी हुन चाहने, खेलाडीहरुले प्रयोग गर्ने गलत औषधिको प्रयोगले खेलबाट बाहिरिनु परेको अवस्थालाई एन्टी डोपिङ एप खेलाडीका लागि उपयोगी हुने बताउँछन्।