संकटमा परेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरले दियो दश-दश लाख
काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण समस्यामा परेका ६ वटा ‘ए’ डिभिजन क्लबलाई रु.१० लाखका दरले सहयोग गरेको छ । महानगरपालिकाले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी रकम हस्तान्तरण गरेको हो।
मछिन्द्र क्लब, सरस्वती युथ क्लब, हिमालयन शेर्पा क्लब, न्यू रोड टिम (एनआरटी, संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले क्लबहरुलाई रकम हस्तान्तरण गरे।
त्यसक्रममा मेयर शाक्यले खेलकुदको विकास तथा प्रवर्द्धनका लागि क्लबहरूलाई सहयोग गरिएको बताए । उनले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएकोसमेत जानकारी गराए।
कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरूलाई एकैसाथ सहयोग गर्न नसकिएको शाक्यको भनाइ थियो।
पहिलो चरणमा ‘ए’ डिभिजन क्लबलाई सहयोग गरिएको र यसपछि छिट्टै नै ‘बी’ र ‘सी’ डिभिजन क्लबलाई पनि सहयोग गरिने जानकारी उनले दिए।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रशंसा गरे।