समाचार सोमबार, असार २२, २०७७

उपमेयर आफैंलाई समितिबाट हटाएको निर्णयमा झुक्याएर गराइयो हस्ताक्षर

हिमालखबर

उपमेयर आफैंलाई समितिबाट हटाएको निर्णयमा झुक्याएर गराइयो हस्ताक्षर

नेपालको संविधानअनुसार स्थानीय तहमा विकास योजना अनुगमन र सिफारिश गर्ने अधिकार उपमेयरलाई दिइएको छ।

स्थानीय तहमा उपमेयरको संयोजकत्वमा एउटा अनुगमन समिति रहने कानूनी व्यवस्था छ तर रौतहटको एक नगरपालिकाकी उपमेयरले योजना अनुगमन समितिको संयोजकबाट हटाएको निर्णयमा हस्ताक्षर गरेकी छिन्।

रौतहटको गुजरा नगरपालिकाको कार्यपालिका बोर्डको निर्णयमा अनुगमन समितिको संयोजकबाट हटाउने निर्णयमा बहुमत सदस्यसँगै उपमेयर रौशन खातुन शेखले पनि सही गरेकी छिन्।

आफूलाई समितिबाट हटाएको निर्णय भएको विषयमा थाहै नभएको र झुक्याएर सही गराएको प्रतिक्रिया उपमेयर शेखले दिएकी छिन्।

उपमेयर शेखका श्रीमान् शेख बदरुदिनले पनि कार्यपालिका बोर्डको बैठकमा उपमेयरलाई झुक्याएर सही गराएको आरोप लगाएका छन्। एकैपटक पाँचवटा निर्णय पुस्तिकामा सही गराउँदा सबै निर्णय पढ्न नसकेको र झुक्किएर सही गरेको दाबी शेख बदरुदिनको रहेको छ।

उपमेयरले योजनाको अनुगमन नगर्ने, भएको कामको पनि सिफारिश नगर्ने तथा सिफारिशमा विभेद गर्दै अधिकारको दुरुपयोग गरेको कारण कार्यपालिकाको बोर्डले हटाउने निर्णय गरेको गुजरा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पवनराज गिरीको भनाइ छ।

झुक्याएर सही गराएकोमा निर्णय सच्याउनुपर्ने अन्यथा आफू संवैधानिक अधिकार प्राप्त गर्न न्यायका लागि अदालत जाने उपमेयर शेखको भनाइ छ।


सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस