वायुसेवा निगमका ३ पाइलटसहित १४ जनामा कोरोना संक्रमण
नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोनाभाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ ।
निगमले विभिन्न देशमा गर्न थालेको उद्धार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई कोरोना भएको निगमले जानकारी दिएको छ।
निगम स्रोतका अनुसार उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रम शुरु भइरहेको छ । बाँकी अन्य कर्मचारीको पनि 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको उल्लेख छ।
विभिन्न मुलुकमा उद्धार उडानमा गएका ३ जना पाइलट र अन्य ११ जना क्याविन क्रुलाई संक्रमण पुष्टि भएपछि निगमले थप कर्मचारीमाथि पनि निगरानी बढाउन लगाएको उल्लेख छ।
निगमले बन्दाबन्दी पछि भएको उडानका सबै पाइलट तथा क्याविन क्रुलाई सोल्टी होटलमा क्वारेन्टिनमा राखेको थियो । उडानमा गएका कर्मचारीलाई क्वारेन्टिनमा राख्दै नयाँ टोली परिचालन गर्ने गरेको निगमले जानकारी दिएको छ।
वायुसेवा निगमले भने पीसीआर परीक्षणबाट ७ जना क्रु मेम्बरलाई कोरोना पुष्टि भएको छ र अन्य ७ जना सम्भावित क्रु मेम्बरको भने संक्रमण पुष्टि हुन बाँकी नै रहेको जानकारी दिएको छ।
निगमबाट भइरहेको उद्धार उडानमा प्रभाव भने नपर्ने उल्लेख गरेको छ । यस अघि हिमालय एयरलाइन्सका पनि एक जना विदेशी पाइलटलाई कोरोना संक्रमण पुष्टि भएको थियो।