ओली–दाहाल भेटवार्ता सकियो, अरू शीर्ष नेताहरुसँग पनि छलफल गरिने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। स्थायी कमिटी बैठक स्थगित गरी दुई अध्यक्षबीच भेटवार्ता भएको थियो।
बिहान १० बजेतिर शुरु भएको वार्ता झण्डै डेढ घण्टा चल्याे। यसपटक भने अध्यक्षद्वयकाे भेट छलफलको चरणमा प्रवेश गरेको उच्च स्रोतले जनाएको छ। ती स्रोतले भन्याे, “आज भने छलफल नै शुरु भयो। यसपटक पहिले जस्ताे भनाभन होइन, सहमति जुटाउन छलफल नै शुरु भयो।”
नेकपाको विवाद हल गर्न कार्यदल गठन भएको भन्ने प्रचारप्रति दाहालले गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। “समस्या बढाउनेगरी अनेक प्रचार भयो। कार्यदल होइन, शीर्ष नेताहरुबीच नै सहमति संभव हुन्छ”, दाहालको भनाइ थियो।
यसमा प्रधानमन्त्री ओली पनि सहमत भएकाे बताइएकाे छ। दुई अध्यक्षबीच वार्ता बढाउने र विवाद हल गर्न अरु शीर्ष नेताहरुसँग पनि छलफल गर्ने सहमति जुटेको एक नेताले बताए। आइतबार विवाद हल गर्न ओली र दाहाल निकट नेताहरु संलग्न रहेको चार सदस्यीय कार्यदल बनेको सार्वजनिक भएकाे थियो।
तर, त्यस्तो कार्यदल नबनेको र कुनै प्रस्तावबारे छलफल नभएको भन्दै दाहालको सचिवालयले खण्डन गरिसकेको छ। १६ असारदेखि दुई अध्यक्षबीचका भेटवार्ता तिक्ततापूर्ण हुने गरेको थियो। १७, १९ र २१ असारमा दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। तर, दुवै जना टसमस नहुने र एकअर्काबीचकाे भनाभनमै वार्ता सकिने भएपछि स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ।
सोमबार बोलाइएको बैठक पनि बुधबारसम्म स्थगित गरिएको छ। यो बीचमा दाहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच केही पटक सम्वाद भएको छ। तर, पूर्व एमाले समूहकै नेताहरुसँग प्रम ओलीको भेटवार्ता हुन सकेको छैन। बरु, पूर्व एमालेतर्फका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
प्रम ओलीले मदन भण्डारीकाे जन्म जयन्तीको अवसरमा आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामाका लागि दबाब दिएको सार्वजनिक अभिव्यक्ति दिएपछि १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ।