समाचार सोमबार, असार २२, २०७७

५ महीनापछि रसुवागढी नाका सञ्चालनमा

हिमालखबर

५ महीनापछि रसुवागढी नाका सञ्चालनमा

पाँच महीनायता बन्द रहेको चीन जोड्ने रसुवागढी नाका सोमबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । कोरोनाभाइरस महामारीका कारण औपचारिक रुपमा १५ माघदेखि नाका बन्द गरिएको थियो।

चीनतर्फको प्रमुख व्यापारिक नाका बन्द हुँदा नेपाली व्यवसायीले भित्र्याएका सामान केरुङमै अड्किएका थिए । भन्सार खुलेको पहिलो दिन चार कन्टेनर सामग्री भित्रिएका छन् । नेपाल–चीन सीमाको मितेरी पुलसम्म चिनियाँ ट्रकले सामान ल्याएर ओरालेका थिए । त्यसपछि ती सामान नेपाली कामदारले ट्रकमा राखेर नेपालतर्फ ल्याएका छन्।

दैनिक चार कन्टेनर सामान चीनबाट नेपालतर्फ ल्याउन द्विपक्षीय समझदारी भएको छ । यद्यपि, नेपालबाट चीनतर्फ सामान निर्यात भने खुलेको छैन । आवतजावत र निर्यात कहिले खुल्ने हो भन्ने अझै टुङ्गो छैन।

नाका आंशिक रुपमा खुले पनि वर्षायाम लागिसकेकाले रसुवागढी हुँदै सामान आयात गर्न भने सजिलो छैन । रसुवागढी जाने बाटो राम्रो नभएकाले वर्षायाममा अवरोध आउँछ।

प्रतिकृया दिनुहोस