नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित गरिएको छ। आज बिहान एघार बजे बस्ने तय भएको बैठक बुधबार बिहान एघार बजेसम्मका लागि स्थगित गरिएको हो।
पार्टी विभाजनकै अवस्थामा पुगेपछि लगातार बैठक स्थगित हुँदै आएको छ। गएको १६ असारदेखि बस्न नसकेको बैठक आज पनि स्थगित गरिएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए। बैठकका लागि धुम्बाराहीतर्फ नेताहरु हिंडिसक्दा बैठक स्थगित भएको सूचना दिइएको छ।
प्रधानमन्त्री एवम् केपी शर्मा ओलीले दुवै पद छोड्नुपर्ने स्थायी कमिटीका नेताहरुले दबाब दिएपछि नेकपा विभाजनतर्फ उन्मुख भएको छ। मदन जयन्तीका दिन प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरुले राजीनामा मागेको बताएपछि नेकपाभित्र थप संकटमा फसेको छ। प्रधानमन्त्री ओलीले बजेट अधिबेशन नै स्थगित गरेका छन्।
तर, सहमति जुटाउनका लागि भन्दै स्थायी कमिटी स्थगित गरिंदै आएको छ। यसअघि १८, २० र २२ असारमा बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। सहमतिका लागि दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता हुँदै आएको छ। आइतबार पनि बालुवाटारमा भेटवार्ता भएको थियो।
अध्यक्ष दाहाल र प्रधानमन्त्री बीच बालुवाटारमा अहिले पनि बालुवाटारमा भेटवार्ता जारी छ।