टिप्पणी मंगलबार, असार २३, २०७७

हिमाल हाम्रा आमाबुबा, के हामी असल सन्तान बनिरहेका छौं त ?

हिमालखबर

हिमाल हाम्रा आमाबुबा, के हामी असल सन्तान बनिरहेका छौं त ?
सूर्योदयका समयमा गोक्यो तालको पानीमा तैरिएको चो ओयु हिमाल ।

- आङरिता शेर्पा

मेरो जन्म नेपालको सोलुखुम्बुस्थित प्राचीन हिमालय क्षेत्रको पर्यावरणका बीचमा भएको थियो । मेरा लागि वरिपरि पहाडहरू नहुनु भनेको आमाबुवा नहुनु जस्तै हो । जसले आफ्ना बालबालिकाको हेरचाह गरेर भविष्यका लागि तयार गर्छन् ।

हिमाली परिदृश्य हिउँका थुप्रो मात्र होइनन्, हाम्रो प्राकृतिक आवास पनि हो । जहाँ म जस्तै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस बस्छन् । जसले समृद्ध प्राकृतिक र सांस्कृतिक संसाधनहरू उपयोग गर्न पाउँछन् । हामीले यी सबै हाम्रा पूर्वजहरूबाट जिउन र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुअघि तिनको प्रशंसा गर्न नासोका रूपमा प्राप्त गरेका हौं ।

विशुद्ध भौतिक दृष्टिकोणबाट हेर्दा पहाडहरू प्राकृतिक संसाधनले भरिपूर्ण छन्; जहाँ पानी, काठ, खनिज र दुर्लभ जैविक विविधता यत्रतत्र पाइन्छन् । उनीहरू त्यसलाई ‘पारिस्थितिक प्रणाली सेवा’ भन्छन् । यद्यपि हिमाली क्षेत्रमा बसोबास गर्नेहरूको स्वास्थ्य, प्राकृतिक जीवनशैली र समृद्ध सांस्कृतिक सम्पदा पनि उत्तिकै महत्वपूर्ण छन् ।

सन् १९८५ मा गोक्यो रीबाट देखिएको याक गोठ, ङोजुम्बा हिमनदी । अहिलेको गोक्यो, पृष्ठभूमिमा माउन्ट चोलात्से ।

हिमालहरू संसारका समस्या बिसाउने ठाउँ हुन्, पर्यटक, आप्रवासी, तीर्थयात्री वा शहरिया शरणार्थीहरूका लागि मनमोहक गन्तव्य हुन्, जो एकान्त, साहसिक, मनोरञ्जन, सुन्दर र आध्यात्मिक सौन्दर्यको खोजी गरिरहेका हुन्छन् ।

पर्यटकहरू गोक्यो पुग्नुअघि सन् १९८५ को गर्मीयाममा लिइएको एक दृश्य।

शताब्दीऔंदेखि पहाडहरूको सापेक्ष दुर्गमता र भिन्नताले तिनीहरूलाई मानवीय प्रभावबाट जोगायो । कहाँसम्म भने त्यहाँका मानिसहरूले प्राकृतिक स्रोतहरू उपयोग गरे पनि तराई क्षेत्रको तुलनामा अधिक दिगो तवरले गरे ।

हिमालसँगको सम्पर्क बढ्दै जाँदा त्यहाँको संसाधन निकाल्ने प्रविधिमा सामूहिक प्रगति र बढ्दो फुर्सदका कारण हिमालय क्षेत्रमा मानवीय क्रियाकलापको नकारात्मक र सकारात्मक प्रभावमा महत्वपूर्ण तवरले वृद्धि भएको छ ।

हिमालहरूमा जति सुगमता बढ्छ र जति हामीले भौतिक विकास र लाभका लागि त्यहाँको पारिस्थितिक प्रणालीको दोहन गर्न सिक्छौं त्यति नै प्राकृतिक पर्यावरण खस्कँदै जान्छ । यी संवेदनशील प्रणालीहरूमा स्थानीय जनसंख्या र वार्षिक वृद्धि हुँदै गएको साहसिक पर्यटकहरूको ठूलो संख्याले नकारात्मक प्रभाव पारिरहेको छ ।

कुनै वेला एकान्त स्थलका रूपमा रहेका क्षेत्र अब उद्योग र पर्यटनका माध्यमबाट दोहन गर्न खुला हुँदैछन् । हामीले नेपालको राष्ट्रिय विकास र आफ्नै पर्यटन उद्योगबाट सिकेका पाठ र इतिहास हेरी हाम्रो पर्यटन उद्योग सञ्चालन गर्नुपर्छ ।

कोभिड–१९ महामारीले नेपालका पहाडहरूलाई सास फेर्ने समय दिएको छ । यसले हामीलाई अपरिवर्तनीय प्राकृतिक ह्रास हुन नदिने विकासको मोडल बनाउन आवश्यक समय पनि दिइरहेको छ । 

पहिलेका दुर्गम र प्राचीन क्षेत्रहरू मानवीय दोहन र शोषणका लागि खोलिन्छन् । प्रकृतिले पहिले जसरी मानिसलाई हेरचाह गरेको थियो त्यसैगरी प्रकृतिको रक्षा र हेरचाह गर्न तत्काल केही कार्यहरू गरिहाल्नु आवश्यक भएको छ ।

ङोजुम्बा हिमनदी, चोलात्से, काङतेगा र थामसेर्कु । तस्वीरः मार्क होरेल

सोलुखुम्बुको तत्कालीन दुर्गम पहाडहरूमा शेर्पा सन्ततिका रूपमा हुर्किरहँदा मैले यी हिमालय क्षेत्रहरूमा भइरहेका परिवर्तनहरूलाई अनुभूत गरेको छु । नेपालको बाँकी पर्वतीय क्षेत्रहरूमा झैं खुम्बु, पासाङ ल्हामु गाउँपालिका ४ मा पर्ने गोक्यो उपत्यकामा पनि विकासले धेरै परिवर्तन ल्याइसकेको छ ।

३० वर्ष पहिले, नेपालको सबैभन्दा लामो ङोजुम्बा हिमनदीको किनारमा रहेको गोक्यो उपत्यका गर्मीमा गाईवस्तु चराउने बाहेक निर्जन भूमि थियो । गोक्यो उपत्यकाको धार्मिक महत्व पनि छ र यो शताब्दीऔंदेखि पवित्र तीर्थस्थलका रूपमा रहेको छ ।

४७५० देखि ५००० मिटरको उँचाइमा रहेको पवित्र गोक्यो ताल हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि लोकप्रिय तीर्थस्थल मानिन्छ । अगस्टको मध्यतिर मनाइने जनैपूर्णिमाका वेला हजारौं हिन्दू र बौद्ध तीर्थयात्रीहरू त्यहाँ स्नान गर्न र आफूलाई नवीकरण गर्न यस पवित्रस्थलमा पुग्ने गर्छन् ।

यस्तो रमणीय नीलो ताललाई सन् २००७ मा अन्तर्राष्ट्रिय रामसार संरक्षण क्षेत्र घोषणा गरिएको थियो । गोक्यो याक र आध्यात्मिक तीर्थयात्रुको गन्तव्य मात्र होइन, यो त कतिपय अनौठा र दुर्लभ प्रजातिहरूको आवास स्थल पनि हो। ताल वरिपरिका अल्पाइन बायोम (हिउँ पर्न शुरू हुने स्थान) हरूले लुप्तप्राय अद्वितीय वनस्पति र जीवजन्तुलाई आश्रय दिन्छ ।

स्थानीय औषधिजन्य र सुगन्धित वनस्पतिका प्रजातिहरू जस्तो कोब्रेसिया फिसिङग्लुमिस फूल वा औषधीय गुणयुक्त कुट्की स्थानीय नागरिकका लागि महत्वपूर्ण संसाधन हुन् । यहाँको संवेदनशील पारिस्थितिकीय प्रणालीले हिमचितुवा जस्ता ठूला स्तनपायी जनावरहरूलाई आश्रय दिइरहेको हुन्छ ।

यो ताल वर्षको दुई पटक हिमालयन प्रवासमा आउने पक्षीहरूका लागि पनि महत्वपूर्ण स्थल हो । तिब्बती पठार र त्योभन्दा पनि परबाट प्रवासी (माइग्रेटरी डक्स) पानीहाँसको बथान आएर तालमा रहेका स्थानीय चराहरू (वुडस्पाइन) सँगै केही समय बस्छन् ।

नेपालको सबैभन्दा लामो ङोजुम्बा हिमनदी जलवायु परिवर्तनका कारण यस्तो बनेको छ ।

यद्यपि विगत दुई दशकमा गोक्यो उपत्यका साहसिक र चुनौतीपूर्ण यात्रा गर्न रुचाउने पदयात्रीहरूका लागि दोस्रो र सबैभन्दा लोकप्रिय दुर्गम गन्तव्य बनिरहेको छ । यहाँको मुख्य आकर्षण चो ओयुको वरिपरि रहेका हिमालहरू हुन्, जो उपत्यकाको चुचुरोमा उदाएका सगरमाथा, पूर्वमा मकालु, दक्षिणमा थामसेर्कु र कांगटेगासम्म पुग्छन् ।

धेरै पदयात्रीले एभरेस्ट ट्रेलमा हुने भीडभाडबाट बच्न गोक्योलाई आफ्नो गन्तव्य बनाउन थालेका छन्, गोक्योबाट हेर्दा देखिने मनमोहक दृश्यका कारण पनि उनीहरूले त्यसो गरेका हुन् । सन् २०१९ मा ६० हजार भन्दा बढी पर्यटक सगरमाथा नेशनल पार्क पुगेका थिए । तीमध्ये एकतिहाइले गोक्यो तालको पनि भ्रमण गरे ।

गोक्यो तालमा किन आउनुहुन्छ भनेर पदयात्रीहरूलाई सोध्दा उनीहरूले धेरै कारण बताउँछन् । धेरैले के मान्छन् भने सगरमाथा वेसक्याम्पमाथिका कालापत्थरको चित्रमाला –पानोरमा) वास्तवमा अधिक उँचाइ भएका पहाडले मात्र बनेका छन् । माथिल्लो खुम्बु हिमनदी नजिक मानव स्पर्श गर्ने कुनै मानव वस्ती पनि छैन ।

गोक्योका अन्य आकर्षण

  • छोटो र अधिक सजिलो बाटो हुँदै सगरमाथाका बारेमा राम्रो दृष्टिकोण बनाउन सकिने ।
  • गोक्यो ताल र त्यस वरपरको दृष्टिकोणका लागि अधिक व्यावसायिक भ्रमण तय गर्न सकिने ।
  • शेर्पा जातिका पुराना संस्कृति, परम्परागत पहाडी गाउँहरू र पर्यटकमैत्री होमस्टेहरूको उपलब्धता ।
  • पदयात्राका साथमा गोक्यो रीबाट एउटा अनुपम, प्रेरणादायक र अतुलनीय परिदृश्य देख्न सकिने ।
  • चुनौतीपूर्ण हिंडाइ र स्वस्थ क्रियाकलाप ।
  • शेर्पा परिवारको आवासमा स्वस्थ, स्वादिष्ट र स्थानीय परिकारहरू खान पाइने ।
  • आगो वा चुलोको छेउमा बसेर सौहार्दपूर्ण वातावरणमा पुराना कथा सुन्न पाइने ।
  • तेजस्वी सूर्यास्त देख्न पाइने ।

सगरमाथा आधारशिविर जानेहरूका तुलनामा गोक्यो उपत्यका जाने पर्यटकहरूको संख्या कम छ तर त्यसको प्रभाव महत्वपूर्ण र बढ्दो छ । निःसन्देह, गोक्यो उपत्यकामा पर्यटनले स्थानीय जनतालाई रोजगारी र आय आर्जन गर्ने सकारात्मक अवसरहरू उपलब्ध गराएको छ ।

गोक्यो तालले अहिले स्थानीय गाईवस्तु र तीर्थयात्रुहरूको प्रभाव सामना गरिरहेको छ । यसलाई स्थानीय रूपमा समाधान एवं कम गर्न सकिन्छ । पर्यटनको बढ्दो मात्रा, पर्यटक र साहसिक कार्य गर्न रुचाउनेहरूका लागि आवश्यक धेरै सामानको माग र खपत गोक्योको संवेदनशील पारिस्थितिक प्रणालीका लागि चुनौती हो ।

बसाइँसराइ गरेर गोक्यो आइपुगेको ‘रुडी सेल्डक’

एक स्थानीय याक गोठालासँग सन् २०१३ मा लिइएको अन्तर्वार्ताका निम्न उद्धरणले द्विविधा वर्णन गर्दछः

“मेरो परिवार चार/पाँच दशकदेखि गोक्यो आइरहेको छ । मेरो पिताका समयमा एक गोठमा १०० याक र नाकहरू थिए तर अब कसैसँग पनि एक/दुई वटा भन्दा बढी छैनन् । मानिसहरूले जति राख्थे त्यति राख्नै सक्दैनन् किनभने अब यहाँ पर्याप्त घाँस नै छैन । यसको मुख्य कारण यो क्षेत्र अब पर्यटनको केन्द्रविन्दु बनिसकेको छ । त्यहाँका गोठहरू चिया पसल र लजका रूपमा परिणत भइसकेका छन् । पछिल्लो दुई/तीन दशकभित्र यो संख्या अझै बढ्दै गएको छ ।”

मानव गतिविधि नै मुख्य समस्या भए पनि यी क्षेत्रहरूमा गोठाला, तीर्थयात्री र पर्यटकहरूको वृद्धि निरन्तर भइरहेकै छ । संवेदनशील वातावरण यसको सामना गर्न संघर्ष गरिरहेको छ यसक्रममा गोक्यो उपत्यकामा रहेको राम्रो चरन क्षेत्र र त्यहाँका झाडीहरू मासिंदै गएका छन् ।

पारिस्थितिक प्रणालीमा देखिएको यो असन्तुलनको परिणामस्वरुप यस क्षेत्रको वन विनाश हुँदै गएको छ, अतिचरनको मारमा पनि परेको छ । यी उच्च भूभागहरूमा रहेका वनस्पतिहरू मासिंदै जाँदा भूस्खलन र क्षति भइरहेको छ । यसले संवेदनशील पर्वतीय पर्यावरण द्रुतगतिमा बिग्रन थप सहयोग गरिरहेको छ ।

मानव फोहोर व्यवस्थापन गोक्योको अर्को समस्या बनेको छ । पर्यटकहरूको संख्या बढ्दै गएपछि उनीहरूको हेरचाह गर्न सहयोगी कर्मचारीहरू आवश्यक पर्छन् । सबै पर्यटकहरू पश्चिमी शैलीको बाथरुम, फ्लस गर्न मिल्ने शौचालय, नुहाउने तातो पानीको फोहोरा र अन्य सुविधा उपलब्ध हुने अपेक्षा गर्छन् । खेतहरूमा मलका रूपमा प्रयोग गरिने खाडल भएका परम्परागत शौचालयहरू अब सेप्टी ट्यांकहरूले प्रतिस्थापन गरिएको छ । त्यहाँ भरिएपछि त्यो सीधै त्यही पवित्र तालमा पुग्छ ।

खाडल भएका परम्परागत शौचालय वातावरण अनुकूल र एउटा उचित स्थानीय समाधान पनि हो । हामी बढी आधुनिक भएकाले पाहुनाले मन पराए भन्ने भ्रममा परेर आधुनिक स्वच्छता र सुविधाका नाममा स्थायी र पुख्र्यौली उपायहरू छाडिदिएका छौं ।

यो स्थितिको प्राथमिक कारण पर्यटनले पारिवारिक तहमा उपलब्ध गराएको आर्थिक अवसर नै हो । स्थानीय मानिसहरूले पर्यटनबाट आर्थिक सुरक्षा प्राप्त गरिरहेका छन् । यही कारण याक गोठाला र आलु खेती गर्ने किसानले आफ्नो परम्परागत जीवनशैली छाडेर संवेदनशील वन फडानी गरी लज बनाइरहेका छन् ।

पर्यटन व्यवसाय वृद्धि हुनु भनेको ऊर्जाको माग अधिक हुनु पनि हो । पकाउने काम धेरैजसो एलपीजी ग्याँसबाट गरिन्छ र ती सबै सिलिण्डर फाप्लुबाट याक र खच्चरमा बोकाएर लगिन्छ । आगो बाल्ने दाउरा चाहिनु भनेको ङोजुम्बा मोरिनको भिरालो पाखातिर बढ्दै गरेका ससाना धुपीसल्लोका बोट अन्य पोथ्रापोथ्री पकाउन र तताउन प्रयोग हुनु हो ।

स्थानीयहरूका लागि मात्रै त्यति धेरै दाउरा आवश्यक पर्दैनथ्यो, उनीहरूले फेरि प्रयोग गर्नुपर्ने स्थितिमा प्रकृतिमा बढिसक्थ्यो । उच्च भूभागमा वनस्पति साह्रै ढिलो बढ्छ, आगो बाल्ने दाउरा धेरै चाहिनु भनेको अल्पाइन वनस्पतिहरू बढ्ने समय नपाउनु पनि हो। फलतः पर्यटकहरूलाई नुहाउन तातो पानी र चिया उपलब्ध गराउन धेरै वर्षदेखि विकासका नाममा विनाश हुँदै आएको छ ।

नेपालको अधिकांश उच्च भूभागमा रहेका सिमसार क्षेत्र र पवित्र तालहरूको नजिकमा मानव बसोबास छैन, जाडो छल्न आउने स्थानीय गोठाला र पदयात्री पर्यटकहरूले गोक्योलाई अधिक उपयोग गरिरहेका छन् ।

गोक्यो उपत्यकाका बारेमा मैले अवलोकन गर्दा देखिएका पर्यावरणीय समस्याहरू निम्नानुसार छन्ः

  • लज, पर्खाल र अन्य निर्माणकार्य गर्दा तालको किनारा अतिक्रमण भइरहेको छ ।
  • तालका छेउछाउमा लजको संख्या वृद्धि भइरहेको छ ।
  • स–साना घाँस, लालीगुराँसका पोथ्रा मास्दै गएकाले ताल वरपर प्रदूषण बढ्दै गएको छ ।
  • हावा र वर्षाले प्याकेजिङ गर्न प्रयोग गरिएका प्लास्टिक र नकुहिने खालका फोहोरहरू तालमा थुपारिरहेको छ।
  • शौचालयमा फ्लस गर्न धेरै पानी प्रयोग भइरहेको छ र त्यसमा मानव निसृत फोहोर समेत मिसिएर निस्किएको ढल सीधै पवित्र तालमा विसर्जन गरिएको छ ।
  • व्यवस्थापन, वातावरणमैत्री हुन आवश्यक केही नियम र तीर्थयात्रीहरूलाई दिनुपर्ने केही निर्देशनहरूको अभाव छ ।
  • गेग्य्रान र भिरालो जमीनमा वनस्पति क्षय हुँदै पहिरो जाने जोखिम पनि बढेको छ ।
  • भौगोलिक रूपले संवेदनशील पर्वतीय संरचना ।
  • हिमनदीले ओगटेको ठाउँ छाड्दै गएर नयाँ तालहरू बन्न सक्छन् ।
  • वास्तवमा छोटो अवधिका लागि आएका पर्यटकहरूको बढ्दो भीडभाडको दबाब र जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव सम्पूर्ण खुम्बु क्षेत्रमा परिरहेको छ । गोक्यो तालमा पनि यो विस्तार भइरहेको छ ।

हिउँ पग्लिरहेको छ किनभने हिमालहरू विश्वव्यापी रूपमै औसतभन्दा द्रुतगतिमा पग्लिरहेका छन् । अहिले जुन दरमा तापक्रम वृद्धि भइरहेको छ त्यसले हिमालयमा बाँकी रहेको हिउँको एकतिहाइ भाग सन् २०५० सम्ममा पग्लिसक्ने अपेक्षा गरिएको छ ।

विश्वव्यापी तापक्रमको वृद्धिले एकातिर प्रदूषण बढेको छ भने अर्कोतिर जंगलमा लागेको आगोका कारण उडेको कालो उच्च भूभागको हिउँमा जमेको छ र त्यो पनि पग्लिरहेको छ । यसले हिमनदी संकुचन हुने क्रमलाई गति प्रदान गरेको छ । गोक्यो वरिपरि फोहोर भएको हिउँ पनि देखिन थालेको छ ।

यी सबै विविध मानवीय गतिविधिले प्राकृतिक अवस्थालाई द्रुत गतिमा बिगारिरहेको छ । यसले त्यस क्षेत्रको प्राकृतिक अवस्थालाई परिवर्तन गरिरहेको छ । यी हिमाली स्रोतहरूको निकासी बढेको छ तर कसैले पनि स्थानीय समुदाय र पर्यावरण संरक्षणका लागि कुनै लगानी गरेका छैनन् ।

पारिस्थितिक प्रणालीको सुधार र स्थायित्व अनि स्थानीय नागरिकहरूको सुरक्षा सबै उत्तिकै आवश्यक छन् र ती सँगसँगै हुनुपर्छ ।

निकालिएका वा प्रयोग गरिएका स्रोतहरू अद्वितीय हिमाली पर्यावरण र संस्कृतिहरूलाई जीवन्त राख्दै व्यवस्थापन गर्नुपर्छ । यसले यहाँका कति मूल्यवान संभावनाहरूको समेत संरक्षण हुनेछ । बहुमूल्य संसाधनहरूको रक्षा गर्न हाम्रा आफ्नै मानिस र अन्तर्राष्ट्रिय आगन्तुकहरूले विनाशको खतराबाट बच्नु र बचाउनुपर्छ ।

सावधानीपूर्वक सुझबुझयुक्त योजना र स्थानीय वा राष्ट्रिय विकास परियोजनाहरू कार्यान्वयन गरी यसलाई पूरा गर्न सकिन्छ । दीर्घकालीन व्यवस्थापन गर्न सगरमाथा राष्ट्रिय निकुञ्जले स्थानीय जनतालाई कुनै कार्यक्रम वा परियोजनामा शुरूदेखि नै सहभागी गराउन बिर्सनुहुँदैन ।

स्थानीय नागरिकको सहभागिता विना प्रकृति संरक्षण गर्न सम्भव छैन भन्ने प्रष्ट भइसकेको छ । नेपाल लगायत विश्वभरिका थुप्रै असफल संरक्षण कार्यक्रमहरूमा यो प्रदर्शित छ ।

हामीलाई नेपालको पर्यटन व्यवस्थापनका नयाँ तरिकाबारे सोच्न, विशेषगरी सोलुखुम्बु र संवेदनशील गोक्यो क्षेत्रको अद्वितीय प्राकृतिक परिदृश्यलाई नयाँ पुस्ताका लागि समेत संरक्षण गर्न कोरोनाभाइरस लकडाउनले दिएको समय उपयोग गर्नुपर्छ । त्यसका लागि केही विषय मनन् गर्नु आवश्यक छः

आङरिता शेर्पा
  • विश्वको सबैभन्दा उत्कृष्ट यी प्राकृतिक क्षेत्रहरूमा होटल र लजहरू निर्माण गर्नु बुद्धिमानी होइन, न त यो दिगो नै हुन्छ । वस्तुगत उपयुक्ततालाई हेरेर कसैले सिफारिश पनि गर्दैन ।

  • मुख्य गन्तव्यहरूमा स्थानीय लजहरू उचित योजना र न्यूनतम आचारसंहिता समेत विचार नगरी विस्तार र नवीकरण हुँदैछन् । अहिले भइरहेको भन्दा थप ह्रास हुन नदिन त्यहाँ निर्माणसंहिता र नयाँ भवन निर्माणका लागि अनुमति प्रणाली शुरू गर्नु आवश्यक छ ।

  • संरक्षित क्षेत्रहरूको योजना र व्यवस्थापनमा स्थानीय सहभागिता वाञ्छनीय छ, स्थानीय अर्थ–व्यवस्थालाई प्रवद्र्धन गर्न पर्यटनका लागि एक समुदायमा आधारित दृष्टिकोण पनि आवश्यक छ । यसले त्यहाँबाट प्राप्त हुने लाभलाई न्यायसंगत वितरणको सुनिश्चितता प्रदान गर्छ । स्थानीय सहभागिताले समुदायको लगानी र परियोजनाका लक्ष्य प्राप्ति गर्न आवश्यक सहकार्यलाई पनि वृद्धि गर्छ ।

  • पर्यटक बस्ने ठाउँ र सुविधाहरूको नियमित अनुगमन गर्ने प्रणाली स्थापना गर्नु आवश्यक छ । यो प्रणाली राष्ट्रिय निकुञ्ज नियम र विनियम अनुकूलको हुनु पनि आवश्यक छ । सबै लज सञ्चालकहरूलाई लज व्यवस्थापन र यससँग सम्बद्ध अन्य सबै खालका प्रशिक्षण उपलब्ध गराउनुपर्छ।

  • एउटा लज व्यवस्थापन समितिको स्थापना गर्ने हो भने त्यसले यो स्थानीय आर्थिक गतिविधिलाई बढी प्रजातान्त्रिक र प्रभावकारी तवरले नियन्त्रण गर्न सक्छ । त्यस्तै समितिले कम इन्धन लाग्ने प्रविधिको प्रवद्र्धन, उचित तवरले फोहोर व्यवस्थापन, भौगोलिक अवस्थिति हेरी मूल्य निर्धारण गरिएको मेनु, लजको स्तर निर्धारण, सरसफाइमा सुधार, र सामुदायिक पदयात्रा मार्गको निर्माण र मरम्मतसम्भारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

(शेर्पा द पाटनर्स नेपालका अध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस