पछिल्लो २४ घण्टामा भेटिए थप २९३ जना कोरोना संक्रमित, १३२ जना डिस्चार्ज
नेपालमा हाल उपचाररत् कोरोना संक्रमितको संख्या ९२०३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९३ जना कोरोना संक्रमित भेटिएसँगै आइसोलेसनमा राखेर उपचार भइरहेका कोरोना संक्रमितको संख्या ९२०३ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार हालसम्म नेपालमा १५७८४ जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्ये ६५४७ जना उपचारपछि निको भइसकेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै १३२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३४ पुगेको छ।
हालसम्म ३१५७३ जना देशका विभिन्न भागमा क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयले आज मात्रै २५ वटा प्रयोगशालामा ४७१० जनाको पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म नेपालमा २५१००७ जनाको पीसीआर टेस्ट गरेको जनाएको छ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै थप ३० जना छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौंका २१, ललितपुरका २, भक्तपुरका १, वीर अस्पतालमा काठमाडौंका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ५ जनामा कोरोना पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।