कृषि विकास ब्यांकको सिस्टम ह्याक गरेर रकम निकाल्ने गिरोहका सदस्य पक्राउ
प्रहरीले गएको असोजमा कृषि विकास ब्यांकको सिस्टम ह्याक गरेर रकम निकाल्ने गिरोहका एकजना सदस्यलाई ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गिरोहका सदस्य धादिङका सौजन तामाङलाई शनिबार नियन्त्रणमा लिएको हो।
महाशाखाले यसअघि ७ असोज २०७६ मा गिरोहका १२ सदस्यलाई पक्राउ गरेको थियो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार विदेशी ह्याकरको सहयोगमा यो समूहले कृषि विकास ब्यांकको सफ्टवयेर ह्याक गरी नेपाली नागरिक मार्फत एटीएमबाट पैसा निकाल्ने गरेका थिए।
एउटा रेमिट कम्पनीका कर्मचारीको सानो सूचनाका कारण ठूलो रकम विदेश लैजाने ह्याकरको योजना विफल भएको थियो।
ह्याकरले रु पाँच अर्ब निकाल्ने योजना बनाएका थिए । उनीहरूले झण्डै रु ७० लाख निकालेका थिए । सो रकममध्ये ६० लाख बरामद भएको थियो।
उक्त घटनाका मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भन्ने पिटर भएको अनुसन्धानमा खुलेको थियो । उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका ब्यांक तथा वित्तीय संस्थाको सफ्टवयेर ह्याक गरी रकम निकाल्दै आएका थिए।
उनको योजना नेपालबाट रु पाँच अर्ब लैजाने रहेको खुलेको थियो । उनले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास ब्यांक, पानस रेमिट, कैलाश विकास ब्यांक र नबिल ब्यांक लगायतका ब्यांक तथा वित्तीय संस्थाहरूको सफ्टवयेर ह्याक गरी रकम निकाल्दै आएका थिए।
महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पैसा निकाल्दै गर्दा विभिन्न क्षेत्रबाट १२ जनालाई पक्राउ गरेको थियो।
ह्याकरको समूह तथा सहयोगीहरूले ब्यांक मार्फत रु चार करोड ७३ लाख रकम भने विभिन्न व्यक्तिको नाममा सारिसकेको पाइए पनि सही समयमा प्राप्त सूचना र प्रहरीको तत्कालको अनुसन्धानले उक्त रकम निकाल्नबाट जोगिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो । घटनाका योजनाकार विदेशी नागरिक पिटर भने फरार छन्।
प्रहरीका अनुसार उनीहरूले कृषि विकास ब्यांकबाट रु चार करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न ब्यांक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ।
यसरी पैसा निकाल्ने नेपाली सहयोगीलाई १५ देखि ३५ प्रतिशत कमिशन दिई बाँकी रकम हुण्डी मार्फत पुनः भारत लैजाने गरेको समेत खुलेको थियो।
पिटरले नेपालका एजेन्टहरूलाई नबिल ब्यांक, कृषि विकास ब्यांक लगायतका ब्यांकहरूमा चल्ती खाता खोल्न लगाई पैसा निकाल्ने गरेको र उनले नेपालबाट रु पाँच अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ।