मेलम्ची खानेपानीको सुरुङमार्गको परीक्षण शुरु, धारामा पानी कहिले खस्छ टुंगो छैन
चुनौतीपूर्ण मानिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको परीक्षण शुरु गरिएको छ।
२१ असार बिहानदेखि अस्थायी बाँधमार्फत करीब २७ किमी लामो सुरुङमार्गमा पानी पठाएर परीक्षण शुरु गरिएको खानेपानी मन्त्रालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । “ठूलो चुनौतीसँग जुधेर आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । अब उद्घाटनको मिति टाढा छैन,” खानेपानी मन्त्री बीना मगरले भनिन्।
मन्त्री मगरले निराशालाई चिरेर मेलम्चीले आशा सिर्जना गरेको र घरघरमा मेलम्चीको पानी पुग्ने दिन टाढा नभएको बताइन्।
परीक्षणको काम सक्न १५ देखि २० दिन लाग्न सक्ने अनुमान गरिएको छ । अस्थायी बाँध बनाएर मेलम्ची खोलाको पानी सुरुङमा हालिएपनि हेडवक्र्सको काम भने सकिएको छैन । यो सकिन पुसमसान्तसम्म लाग्न सक्छ।
आयोजना निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले बीचैमा छोडेर गएपछि चिनियाँ कम्पनी सिने हाइड्रोलाई बाँकी काम निर्माणको जिम्मेवारी दिइएको छ । यसले सुरुङमार्ग निर्माणको काम सम्पन्न गरेपनि अब हेडवर्क्स निर्माणको काम गरिरहेको छ।
सुरुङ मार्फत मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलमा पानी खसाल्ने दिन नजिकिए पनि उपभोक्ताले तत्कालै यो पानी खान पाउने छैनन् । मेलम्चीको पानी वितरण प्रणालीमा थुप्रै काम गर्न बाँकी रहेकाले कयौं महीना यसका लागि लाग्ने अनुमान गरिएको छ । तर, मन्त्री मगरले भने छिटै यो पानी उपभोक्ताको धारामा खस्ने बाचा गरेकी छिन् । यसअघि, कयौं पटक मेलम्चीको पानी काठमाडौं ल्याइने मिति घोषणा गरिएपनि ती बाचा पूरा भएनन्।
उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०५५/५६ बाट यो आयोजना निर्माण शुरु गरिएको थियो । आयोजनामा अहिलेसम्म रु. ३० अर्बभन्दा बढी खर्च भइसकेको छ।