ओली–दाहाल छलफल विना निष्कर्ष सकियो, असमझदारी नबढाउने र भोलि पुनः भेट्ने सहमति
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिंदो संघर्षकै बीच आज दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री ओलीको बालुवाटारस्थित निवासमा भएको छलफलमा ओली–दाहालसँगै दुवै पक्षका केही नेतासमेत सहभागी थिए।
ओलीसँग नेकपा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पाेखरेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा दाहालसँग स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए । छलफलमा सहभागी एक नेताले छलफल कुनै ठोस निष्कर्षमा नपुगेको र भोलि बिहान पुनः बस्नेगरी टुंगिएको हिमालखबरलाई बताए।
प्रधानमन्त्री ओलीले २० असार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । राष्ट्रपतिलाई भेटेर शीतलनिवासबाट फर्केपछि उनले आफ्नो क्याबिनेटका मन्त्री र राज्यमन्त्रीहरुलाई ‘आफ्नो पार्टीभित्रबाट राष्ट्रपतिलाई महाभियोग लगाउने र आफूलाई पनि हटाउने षड्यन्त्र भएको’ बताएका थिए । आज बिहान मात्र नेकपा अध्यक्ष दाहाल तथा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।
त्यसपछि उनी प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । “ओली कमरेड आफ्नै अडानमा देखिनुभो, तैपनि भोलि स्थायी कमिटीको बैठक बस्नुअघि दुवै अध्यक्षबीच छलफल हुने तय भएको छ, त्यतिञ्जेल असमझदारी नबढाऔं भन्ने कुरा पनि भयो”, स्रोतले भन्यो । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने आवाज उठेको छ।
सरकारले गत वैशाखमा ल्याएका राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेशका कारण नेकपाभित्रको संघर्ष सतहमा देखापरेको थियो । त्यसपछि संघर्ष बढ्दै जाँदा पार्टी नै विभाजनमा जान सक्नेसम्मका अड्कलबाजी भइरहेका छन्।