आफ्नो ‘पोजिसन’ प्रष्ट्याउन दाहाल, खनाल र नेपाल शीतलनिवासमा
नेकपाभित्र चुलिंदो संकटकै बीच अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको तीव्र विवादका बीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो पोजिसन स्पष्ट गर्न समय लिएर नेतात्रय शीतलनिवास पुगेको अध्यक्ष दाहालनिकट एक नेताले बताए।
पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट अर्का अध्यक्ष दाहाल तथा वरिष्ठ नेताद्वय खनाल र नेपाल पक्षधरले राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउन थालेको चर्चा चलाइएपछि त्यसबारे राष्ट्रपतिलाई प्रष्ट पार्न नेतात्रय शीतलनिवास पुगेको ती नेताले बताए । अहिले शीतलनिवासमा राष्ट्रपतिसहित तीन नेताको बैठक बसिरहेको छ।
शनिबार साँझ मात्र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । त्यहाँबाट फर्केर उनले आफ्नो क्याबिनेटका मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर नेकपाभित्रबाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउन लागिएको र आफूलाई पनि हटाउन खोजिएको बताएका थिए।
“प्रधानमन्त्रीले गलत सूचनाका आधारमा हुँदै नभएको चर्चा चलाएपछि त्यसबारे राष्ट्रपतिलाई क्लियर गर्न उहाँहरु शीतलनिवास जानुभएको हो”, दाहालनिकट ती नेता भन्छन्, “राष्ट्रपतिको भूमिकालाई लिएर उहाँहरु असन्तुष्ट भएको मैले पाएको छैन।”
यसअघि सरकारले गत ९ वैशाखमा ल्याएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण राष्ट्रपति कार्यालय विवादमा तानिएको थियो । शुरुमा आफैले जारी गरेको अध्यादेश सरकारले दुई दिनपछि नै फिर्ता लिन सिफारिस गरेको थियो। एकपटक जारी भएर अध्यादेश फिर्ता गरिसकेपछि त्यसलाई संसदबाट प्रतिस्थापन विधेयक मार्फत् निष्क्रिय पार्नुपर्ने हुन्छ । ती दुवै अध्यादेश निष्क्रिय तुल्याउन हालैमात्र संसदबाट पारित प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।