विकास दुबेकी आमा भन्छिन्– उसको इन्काउन्टर गरिदिनू, मलाई दु:ख लाग्दैन
भारतको उत्तरप्रदेशस्थित कानपुरमा आठ जना प्रहरीको हत्यापछि विकास दुबेलाई पक्राउ गर्ने वा सुराक दिनेलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरिएको छ। तर ४८ घन्टा बितिसक्दा पनि उनी पक्राउ परेका छैनन् । जबकि उनको खोजीमा प्रहरीका १०० टिम परिचालन गरिएको छ।
दुई दिनमा उनका विरुद्ध हत्या र हतियार लुटेको ३५ वटा उजुरी दर्ता गरिएका छन् । उत्तर प्रदेशका सीमा बन्द गरेर उनको खोजीका लागि कानपुरमा छुट्टै क्याम्प नै राखिएको छ । ‘स्पेशल टास्क फोर्स’ ले नेपालसँगको सीमामा उच्च सतर्कता अपनाएको छ । परिवारसँग लगातार सोधपुछ गरिएको छ ।
परिवारसँगकै सोधपुछका क्रममा दुबेकी आमा सरलाले आफू आजित भएको बताएकी छिन् । उनले आफ्नो छोराको ‘इन्काउन्टर’ गरिदिन आग्रह गरिन् । उनले भनेकी छिन्, “मलाई अलिकति पनि दुख लाग्दैन ।”
विकास दुबेको परिवारमा उनकी पत्नी, दुई छोरा, आमा, बुवा र मामा थिए । शुक्रबार पुलिससँग भएको गोली हानाहानमा मामाको भने मृत्यु भएको छ । उनका एक छोरा लण्डनमा एमबीबीएस पढ्छन् । अर्का छोरा कानपुरमै इन्टरमिडिएट पढ्छन् । आमा भाइ दीपप्रकाशसँग लखनउ बस्छिन् ।
यो पनि: आठ भारतीय प्रहरीको हत्या गर्ने विकास दुबे को हुन् ?
विकासकै कारण पूरै परिवार तनावमा रहने गरेको बताएकी छिन् । उसको मृत्यु हुनु नै ठीक हुने आमाले बताएकी छिन् । उनी लामो समयदेखि बिरामी छिन् । विकासका बाबु रामकुमार भने गाउँमै बस्छन् । आफ्ना पतिसँग लामो समयदेखि सम्पर्क नभएको आमा सरलाले बताएकी छिन् ।
भाइ दीपप्रकाशकी पत्नी अञ्जली १० वर्ष बिकरु गाउँको प्रधान भइन् । उनलाई विकासले नै निर्विरोध प्रधान बनाउँथे । अञ्जलीको कामबाट खुसी भएर तत्कालीन राष्ट्रपति डा. एपीजे अब्दुल कलामले पुरस्कृत गरेका थिए । तर अहिले अञ्जली यी सबै कामबाट टाढा छिन् ।
प्रहरीले लखनउबाट अञ्जलीलाई साधेपुछका लागि भन्दै प्रहरी थाना लगेको छ । अञ्जलीको नाममा रहेको लाइसेन्स लिएको पेस्तोल पनि जफत गरेको छ । दीपु भने फरार छन्। उनको मोबाइल पनि बन्द छ ।
विकासको कृष्णानगर कोतवाली क्षेत्रको इन्द्रलोक कोलोनीमा भएको घरमा ताला लगाइएको छ । प्रहरीले ताला फोडेर सबै कोठामा खानतलास गरेको थियो ।
- दैनिक भाष्करबाट