सहमतिमै स्थायी कमिटी स्थगित, तर अवस्था जटिल बनेको प्रधानमन्त्रीको सन्देश
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अवस्था जटिल बनेको बताएका छन्। शनिबार साँझ मन्त्री, राज्य मन्त्री र आफ्ना सचिवालयका सदस्यहरुलाई ब्रिफिङ गर्दै पार्टीको अवस्था जटिल मोडमा पुगेकाे बताएका हुन्।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्री ओलीले अब पार्टी एक नरहन सक्ने समेत बताएका थिए। ती मन्त्रीले हिमालखबरसँग भने, “अब कित्ता क्लियर गरेर जानुपर्ने हुनसक्छ। तीन–चार दिनभित्रै तपाईंहरुले कता लाग्ने भन्ने जवाफ दिनुपर्ने हुनसक्छ।” राज्यमन्त्रीहरुलाई समेत बोलाइएको बैठकलाई अनौपचारिक भनिएको थियो।
तर, प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपति विरुद्ध षड्यन्त्र भइरहेको प्रमाण आफूसँग भएकाले अवस्था जटिल बनेको ब्रिफिङ गरेका थिए। अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान सुनाउँदै प्रधानमन्त्री ओलीले अर्को बैठकमा लाइन समेत प्रष्ट गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको ब्रिफिङ रोक्दै कृषि तथा पशुन्छी विकास मन्त्री घनश्याम भुसालले गलत सन्देशका आधारमा निर्णय नलिन आग्रह गरेका थिए। “तपाईंलाई गलत सन्देश दिइयो। यहाँ दुवैतिर भ्रामक सूचना बाँड्ने काम भएको छ”, मन्त्री भुसालले प्रधानमन्त्रीलाई निष्कर्षमा नपुग्न आग्रह गरेका थिए।
राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको सूचना पाएकाले एक्सनमा जान लागेको प्रधानमन्त्रीले ब्रिफिङ गरेपछि मन्त्री भुसालले कसैले भ्रामक सूचना दिएको हुनसक्ने बताएका थिए। ऊर्जामन्त्री वर्षमान पुनले पनि राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र नै भए पनि पार्टीले न्याय दिने बताएका थिए।
प्रधानमन्त्री ओलीले भने मन्त्रीहरु भुसाल र पुनलाई कुनै जवाफ दिएनन्। छलफल नै सकिएको जानकारी गराए।
सम्वाद गर्न बैठक स्थगित
नेकपाभित्र विवाद उत्कर्षमा पुगे पछि बिहीबार देखि प्रभावित स्थायी कमिटी बैठक शनिबार ११ बजेका लागि तय भएको थियो। तर, थप सम्वाद गर्नकै लागि भनेर बैठक २२ असारसम्मका लागि स्थगित गरिएको थियो।
बिहीबारको बैठकले शुक्रबार दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल बीच सम्वाद गर्ने र शनिबार बैठक बस्ने निर्णय गरेको थियो। त्यसैअनुसार, दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न शुक्रबार बालुवाटार पुगे। दुई चरणमा गरी तीन घण्टा बढी सम्वाद पनि भयो। पहिलो दुई घण्टा दुई अध्यक्ष मात्रै र बाँकी समय महासचिव बिष्णुप्रसाद पौडेल र जनार्दन शर्मालाई राखेर छलफल भएको थियो।
याे पनि पढ्नुहाेस्ः ‘नेकपा फुट्यो भने नेपालमा कम्युनिष्ट सिद्धिन्छ’
यसपछि शनिबार बिहान बस्नेगरी छलफल स्थगित भयो। तर, शनिबार बिहान छलफल भएन। बरु, गृहकार्य नपुगेको भन्दै स्थायी कमिटी स्थगित गर्ने निर्णय भयो। उच्च स्रोतका अनुसार, प्रधानमन्त्री निकटकै नेताहरुको आग्रहमा बैठक स्थगित भएको थियो।
वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि स्थायी कमिटी स्थगित गरेर सम्वाद गर्ने प्रस्ताव ठीक भएको प्रतिक्रिया दिएपछि दाहालले बैठक स्थगित गरे। दाहालले ओलीसँग टेलिफोन मार्फत् बैठक स्थगित गरेर थप छलफल गर्ने निर्णय लिएका थिए।
स्थायी कमिटी स्थगित भएपछि दिउँसो चार बजे दुई अध्यक्ष बीच भेटवार्ता गर्ने तय भएको थियो। तर, दाहालसँग छलफल नगरी प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाए। यसपछि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गए। शीतलनिवासबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टी जटिल अवस्थामा पुगेको र कित्ता प्रष्ट पार्ने समय आएको सन्देश दिएका छन्।