सकियो प्रधानमन्त्रीको मन्त्रीहरूलाई ब्रिफिङ, नेकपाका दोस्रो तहका नेताहरू जुटे छलफलमा
प्रधानमन्त्री केपी ओलीले शनिवार साँझ बालुवाटारमा बोलाएको मन्त्री तथा राज्यमन्त्रीहरूसँगको परामर्श सकिएको छ । प्रधानमन्त्रीको मन्त्री तथा राज्यमन्त्रीहरूसँगको परामर्श सकिएलगत्तै पार्टीको दोस्रो तहका नेताहरू एकता कायम गर्नका लागि छुट्टै छलफलमा जुटेका छन् ।
परामर्शमा प्रधानमन्त्रीले पार्टीभित्र एकै ठाउँमा रहने सम्भावना न्यून रहेको ब्रिफिङ मन्त्री तथा राज्यमन्त्रीहरूलाई गरेका छन्।
प्रधानमन्त्रीको ब्रिफिङपछि नेकपाका दोस्रो तहका नेताहरू कृषीमन्त्री घनश्याम भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उर्जामन्त्री वर्षमान पुनलगायत छलफलमा जुटेका छन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि निवास बालुवाटार फर्किएका थिए। बालुवाटार फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श शुरु गरेका थिए।
समसामयिक विषयमा छलफल गर्नका लागि बालुवाटार निम्त्याईएका मन्त्री र राज्यमन्त्रीहरू ७ बजे नै बालुवाटार पुगे पनि ओली शीतल निवासबाट फर्किन केही समय लगाएपछि ढिलो गरी छलफल शुरु भएको एक मन्त्रीले बताए ।
सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै बेला पार्टीभित्रको अन्तर्संघर्ष उत्कर्षमा पुगेको छ ।
यसअघि बिहीवार राष्ट्रपतिसँग भेटेर आएलगत्तै जारी स्थायी समिति बैठकलाई नै असर पुग्ने गरी मन्त्रिपरिषद् बैठक राखेर संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराएका प्रधानमन्त्री ओलीको आजको बैठकलाई पनि विशेष महत्वका साथ हेरिएको थियो ।
उनले एकै ठाउँमा रहने सम्भावना न्यून रहेको ब्रिफिङ गरेको प्रारम्भिक सूचना बाहिरिए पनि थप सूचना आउन बाँकी नै छ ।
शनिवार मात्रै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सचिवालयका ६ जना नेताहरूको जमघट भएको छ । उक्त जमघटमा पार्टी विभाजनलाई रोक्ने र ओलीलाई अडानबाट पछि हट्न बाध्य पार्ने सल्लाह भएको स्रोतको भनाइ छ ।