सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ।
'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. जबप्रहरीबन्दाबन्दीमाकेकलिएरवृद्धदम्पतीलाईशुभकामनादिनपुग्यो
काठमाडौं बालुवाटारकी तान्भी महेश्वरी अध्ययनका लागि भारतको पुणेमा छिन् । उनले नेपाल आएर हजुरबुवा र हजुरआमाको विवाहको ५० औं वार्षिकोत्सव विशेष रुपमा मनाउने योजना बनाएकी थिइन्। यसका लागि काठमाडौं आउने हवाई टिकट समेत किनिसकेकी थिइन् । तर, त्यही वेला नेपाल र त्यसको भोलिपल्टदेखि भारतमा बन्दाबन्दी शुरु भयो।
२४ वैशाखमा नेपाल प्रहरीको फेसबूक पेजमा मेसेज लेखिन्, “आशा राख्छु तपाईंहरु राम्रो काम गरिरहनुभएको छ, मेरो एउटा इच्छा र अनुरोध छ, के यहाँहरुबाट सम्भव छ ?” त्यसपछि प्रहरी केक लिएर वृद्ध दम्पतीलाई शुभकामना दिन पुग्यो, कसरी? एक रिपोर्ट ।
२. वन्यजन्तुका मुख्य कारोबारी कुन्जोक, जो १५ वर्षसम्म अन्तर्राष्ट्रिय बैठकको अजेण्डा बने
भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्राष्ट्रिय बैठकहरुमा यही नाम पटकपटकको अजेण्डा बन्ने गर्दथ्यो । अन्ततः ११ असारमा उही कुन्जोक काठमाडौंमा पक्राउ परेका छन्। - दीपक खरेलको सामग्री।
३. को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?
झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन। - तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङको अनुसन्धानमूलक आलेख ।
४. उर्मिला भाउजूः मृत्युसम्मै छुटेन भुटानी माटोको टीका
नेपालमा शरणार्थी हुन बाध्य हुनुअघि डा. भम्पा राई दक्षिण भुटानको साम्चीका बासिन्दा थिए । उनको दमक बेलडाँगी रोडस्थित क्लिनिकमा उपचारको लागि भुटानबाट कतिपय बिरामी अझै आउँछन्। परिचय खुलाउन नमान्ने त्यस्ता व्यक्तिले डा. राईलाई भुटानस्थित उनको खेतमा फलेको अन्न, हलुवावेद र आँगनको माटो उपहारस्वरुप ल्याइदिन्छन् ।
डा. भम्पा र उनकी श्रीमती उर्मिला हरेक दिन त्यही माटोको टीका लगाउँथे । उनै उर्मिला भाउजूको गत साता दमकमै निधन भयो । दमकमा रहँदा राई दम्पतीसँग बरोबर भेट गरेका, उपचार र समाचार समेत पाएका हाल अमेरिका बसोबास गरिरहेका पत्रकार गोपाल गड्तौलाको निधनालेख ।
५. 'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै
नेपालसँगको सम्बन्ध दर्शाउन भारतले गर्ने व्यवहार र प्रयोग गर्ने शब्दहरू समानतामा आधारित छैनन् । 'ठूल्दाइ' र 'रोटीबेटी'को सम्बन्धमा निरन्तर प्रचारित गर्ने भारतीय सञ्चारमाध्यमको आशय तुलनात्मक रुपमा सानो छिमेकी नेपाललाई दयाका पात्रका रुपमा चित्रित गर्न खोजिरहेको झैं देखिन्छ ।
अलग देश भए पनि नेपाललाई सक्दो आफू आश्रित बनाउने चाहना इतिहासकालदेखि नै पटकपटक प्रकट हुँदै आएको छ । विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नेपालसँग अनुमति नै नलिई सार्वजनिक गर्नु भारतको यही अभीष्टको पछिल्लो रुप हो । - वसन्त महर्जनको टिप्पणी।
६. महामारीमा नबिर्सौं यी सम्भावित मानवीय संकट
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संयन्त्रलाई सबल पार्नुपर्ने त छँदैछ, यो सँगै महामारी सिर्जित आर्थिक, सामाजिक र मानसिक समस्यामा आफूले सक्ने सहयोग गर्न हाम्रो हातेमालोले ठूलो अर्थ राख्छ । महामारी फैलिएको लामो समय भइसक्दा पनि नेपालमा स्वास्थ्य क्षेत्रको तयारी अझै दयनीय नै छ। विडम्बना, यी कुराको व्यवस्था अर्को तीन–चार महीनामा होला भनेर विश्वस्त हुन सकिने तयारी पनि छैन।
महामारीमा हुनसक्ने सम्भावित मानवीय संकटबारे कोरोनाभाइरस, डेंगी जस्ता भाइरसका भ्याक्सिन तथा औषधिहरूको खोजी परियोजनाहरूमा संलग्न तथा अष्ट्रेलियाको क्विन्स्ल्यान्ड मेडिकल रिसर्च इन्स्टिच्यूटका भाइरोलोजिष्ट डा. नारायण ज्ञवाली र आम्दा अस्पताल, बुटवलमा कार्यरत बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलको टिप्पणी।
७. के हुँदैछ मेलम्चीको मुहानमा ? [भिडिओ रिपोर्ट]
राष्ट्रिय गौरवका आयोजनाहरूमध्येको एक मेलम्ची खानेपानी आयोजनाको लागत रु.३१ अर्बभन्दा बढी पुग्न लागेको छ, तर काम भने सुस्त छ । गएको १७ कात्तिक २०७६ मा चिनियाँ कम्पनी सिनोहाइड्रोले मेलम्चीको मुहानको ‘हेडवर्क्स’ निर्माणको ठेक्का पाएपछि आयोजनाको अन्तिम चरणको कामले गति लिन थालेको छ।
यो काम यही असार मसान्तभित्र सकिने नेपाली अधिकारीहरूको आशा रहेकोमा कोभिड-१९ महामारीका कारण ढिलाइ भएको छ। आयोजनाका अधिकारीहरुका अनुसार, सुरुङको काम लगभग पूरा भइसकेको छ र मुहानको काम सक्न अर्को ६ महीना लाग्न सक्छ। -पत्रकार सुरेन्द्र फुयालको भिडियो सामग्री।
८. घेरिए प्रधानमन्त्री, मागियो राजीनामा
१४ असारमा बालुवाटारमा आयोजित मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो राजीनामा भारतीय स्वार्थका कारण मागिएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि चुलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद शनिबारसम्म मत्थर हुने दिशामा बढेको छैन ।
यो अभिव्यक्तिसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका अन्य नेताहरुसँग अध्यक्ष एवं प्रमको कटुता बढेसँगै १८ असारमा सरकारले हठात् संसद अधिवेशन अन्त्यको घोषणा गरेको छ ।
यसले अध्यादेशमार्फत पार्टी फुटाउने प्रधानमन्त्रीको अभीष्ट सतहमा देखिएको नेताहरुले आरोप लगाएका छन् । निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ताका लागि दिइएको आवेदनले पनि यस्तो संशयमा बल पुगेको छ ।
अहिले दुवै अध्यक्ष ओली र दाहाल विवाद मिलाउन भेटघाट तीव्र बनाइरहेका छन् । यसबीचमा राष्ट्रपतिसँग पनि दुवैको भेटको गति बढेको छ । विवाद समाधान गर्न वरिष्ठ नेता माधवकुमार नेपालसहितको समर्थनमा २३ असारसम्म स्थायी कमिटीको बैठक पनि स्थगित गरिएको छ । नेकपा, सरकार र मुलुककै राजनीतिक भविष्यका लागि यो साता विशेष महत्व राख्ने देखिन्छ । - सइन्द्र राईको रिपोर्ट।
९. घरजग्गा कारोबार संकटमा, बिक्रीको चाप बढ्यो
घरजग्गा किनबेचको सूचना राख्ने वेबसाइटहरूमा पनि पछिल्ला साताहरूमा बिक्रीका सूचना बढिरहेका छन् । यस्तै एउटा अनलाइनका सीईओका अनुसार पछिल्ला साताहरूमा उनको वेबसाइटमा घरजग्गा बिक्री गर्न इच्छुकहरूले सूचना राख्ने क्रम बढिरहेको छ । मूल्य उच्च विन्दुमा पुगिसकेको काठमाडौंको घरजग्गाको कारोबार कोरोनाभाइरस महामारीको धक्कापछि क्रमशः मन्दीको बाटोमा जाँदैछ, रमेश कुमारको रिपोर्ट।
१०. कोरोना परीक्षण प्रयोगशालामा सिण्डिकेट, खटाइयो अदक्ष जनशक्ति
कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले माइक्रोबायोलोजिष्टहरूलाई परिचालन गर्न निर्देशिका जारी गरेको थियो। निर्देशिका अनुसार प्रदेश प्रयोगशालाहरूले जनशक्ति माग गरे । तर काम गर्न लाइसेन्स नै चाहिने व्यवस्थाका कारण सरकारले उनीहरूलाई परिचालन गर्न सकेन।
परिणाम त्रिवि र यसबाट सम्बन्धन पाएका क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरिसकेकाले पनि काम गर्न पाएनन् । अहिले प्रयोगशाला तालिमका भरमा खटिएका अदक्ष जनशक्तिको भरमा चलिरहेको छ । - रामु सापकोटाको रिपोर्ट।
११. सरकार सुन्दैन सांसदका प्रश्न र समितिहरूका निर्देशन
सरकार न सांसदले बोलेका विषयमा गम्भीर छ, न संसदीय समितिहरूले दिएका निर्देशन मान्छ । बजेट छलफलमा उठेका प्रश्नबाहेक अरू वेला मन्त्रीहरूले संसद् बैठकमा जवाफै दिंदैनन् । ६० वर्ष नाघेको संघीय संसद्को अभ्यास र कामकारबाहीप्रति अधिकांश सांसद सन्तुष्ट छैनन् । संसद्प्रति जवाफदेही नभएको भनेर सरकारको आलोचना भइरहेको छ । -लक्ष्मी बस्नेतको रिपोर्ट।
१२. देशका ६४ प्रतिशत व्यवसायले पाएका छैनन् ऋण सुविधा
नेपाल राष्ट्र ब्यांकले वित्तीय पहुँच बढिरहेको दाबी गरे पनि देशमा सञ्चालनमा रहेका मध्ये झण्डै दुई तिहाइ व्यवसायले ऋणको सुविधा नपाएको देखिएको छ। केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाको भर्खरै प्रकाशित तथ्यांकले देशका करीब ९ लाख व्यवसायमध्ये ५ लाख ८० हजार (६४.४ प्रतिशत) ले ऋणको सुविधा नपाएको देखाएको हो, एउटा रिपोर्ट ।
१३. सरकारी सेवामा पहिलो महिला माहुत हिमानी भन्छिन्- महिला कोही माहुत नबनून् !
हिमानी थारु (२७) हात्तीकै सेरोफेरोमा हुर्किइन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ की उनी विद्यालय आउँदा–जाँदा बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा माहुतहरूले हात्तीको हेरचाह गरेको देख्थिन् । तर, न हात्तीप्रति चाख थियो, न माहुतको कामप्रति रुचि ।
उनको इच्छा थियो– कक्षा १२ सम्म पढेर जागिर खोज्ने। कक्षा १० मा पढ्दै गर्दा लोकसेवा आयोगमा नाम निकालेकी पहिलो महिला माहुत बनेकी हिमानी कामका क्रममा भोग्नुपरेको असहयोग, असुविधा र दुर्व्यवहारका कारण यो पेशाप्रति असन्तुष्ट छिन् । - मुकेश पोखरेलको रिपोर्ट।
१४. काठमाडौं उपत्यकाको ढलमा भेटियो कोरोनाभाइरस, समुदायमा संक्रमण फैलिएको आशंका
सेन्टर फर मोलिक्युलर डायनामिक नेपाल (सीएमडीएन) ले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका दुई ढलमा कोरोनाभाइरस (सार्स–२) भेटिएको छ । ढलमा कोरोनाभाइरस भेटिएसँगै उपत्यकामा कोभिड–१९ संक्रमण समुदायस्तरमा फैलिएको आशंका गरिएको छ ।
महामारी फैलिए पनि उल्लेख्य गम्भीर बिरामी नपाइनुले संक्रमित व्यक्ति निको भइसकेको हुनसक्ने सीएमडीएनका सह–संस्थापक एवं अनुसन्धानका सुझावकर्ता डा.समीरमणि दीक्षितको भनाइ छ । यो वैज्ञानिक निष्कर्षले उपत्यकामा ठूलो मात्रामा कोराना परीक्षणको दायरा बढाउन सरकारलाई दबाब दिएको छ ।