शीतल निवासबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली, मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श शुरु
प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि निवास बालुवाटार फर्किएका छन् । बालुवाटार फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श शुरु गरेका छन् ।
समसामयिक विषयमा छलफल गर्नका लागि बालुवाटार निम्त्याईएका मन्त्री र राज्यमन्त्रीहरू ७ बजे नै बालुवाटार पुगे पनि ओली शीतल निवासबाट फर्किन केही समय लगाएपछि ढिलो गरी छलफल शुरु भएको एक मन्त्रीले बताए ।
सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै बेला पार्टीभित्रको अन्तर्संघर्ष उत्कर्षमा पुगेको छ ।
यसअघि बिहीवार राष्ट्रपतिसँग भेटेर आएलगत्तै जारी स्थायी समिति बैठकलाई नै असर पुग्ने गरी मन्त्रिपरिषद् बैठक राखेर संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराएका प्रधानमन्त्री ओलीको आजको बैठकलाई पनि विशेष महत्वका साथ हेरिएको छ । बिहीवारको उक्त कदमपछि नेकपाको स्थायी समिति बैठक स्थगित छ भने नेताहरू विभिन्न चरणमा छलफलमा जुटेका छन् ।
शनिवार मात्रै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सचिवालयका ६ जना नेताहरूको जमघट भएको छ । उक्त जमघटमा पार्टी विभाजनलाई रोक्ने र ओलीलाई अडानबाट पछि हट्न बाध्य पार्ने सल्लाह भएको स्रोतको भनाइ छ ।