रुपान्तरण सहितको एकता आवश्यक छ, पार्टी फुट्न दिदैनौं: शर्मा
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माले रुपान्तरण सहितको एकताको आवश्यकता औंल्याउँदै पार्टी फुट्न नदिने बताएका छन्।
पार्टीभित्रको गतिरोध समाधानमा सक्रिय भूमिका खेलिरहेका नेता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत सबै गम्भीर भएर लाग्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
"नेकपा भित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौं। यो हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ," शर्माले लेखेका छन्, "दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन।
पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ।"
पार्टीलाई व्यक्तिका स्वार्थ पूर्तिको हतियार बन्न दिन नहुने भन्दै शर्माले अगाडि भनेका छन्, "म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन, फुटाउन दिइँदैन। पार्टीलाई विचार,विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पूर्तिको हतियार बन्न दिनु हुँदैन।
तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं।"
शर्माले पार्टी एकताको एक अभियन्ताको नाताले एकताको पक्षमा सबै नेता कार्यकर्तालाई योगदान गर्न अपील गर्दै कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई नभएको बताएका छन्। पार्टी एकताको समयमा महत्त्वपूर्ण भूमिका खलेका शर्मा यतिबेला उत्पन्न तनाव मत्थर पार्नका लागि पनि सक्रिय देखिएका छन।