प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै अध्यक्ष दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाँदैछन्। शुक्रबार तीन घण्टा लामो सम्वाद गरेका ओली र दाहाल बीच फेरि भेटवार्ता हुन लागेको हो।
शुक्रबारको सम्वाद पछि आज फेरि भेटवार्ता हुन लागेको हो। स्थायी कमिटी बैठक अगाडि भेटवार्ता गर्न ओलीलाई भेट्न बालुवाटार जाने तयारी भएको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकाटाले बताए।
२ जेठ २०७५ को सहमति गर्दाका नेताहरु विष्णुप्रसाद पौडेल र जनार्दन शर्मा समेत राखेर दुई अध्यक्ष ओली र दाहालले शुक्रबार सम्वाद गरेका थिए। एघार बजे स्थायी कमिटी बैठक बोलाइएको छ।
बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद अधिवेशन अन्त्य गरेपछि नेकपाको स्थायी कमिटी बैठक प्रभावित बनेको छ। १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्न ओलीलाई दबाब दिइएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री ओलीले आफू निकट युवा र विद्यार्थीसँग बिहीबार साँझ बालुवाटारमा छलफल गरेपछि नेकपा फुटको संशय झनै बढाएको छ। तर, कृषि मन्त्री समेत रहेका घनश्याम भुसाल लगायत दोस्रो तहका नेताहरुले एकता कायम राख्न दबाब अभियान शुरु गरेका छन् भने केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालय, धुम्बाराहीमा धर्ना शुरु गरेका छन्।