समाचार शुक्रबार, असार १९, २०७७

देशका ६४ प्रतिशत व्यवसायले पाएका छैनन् ऋण सुविधा

हिमालखबर

देशका ६४ प्रतिशत व्यवसायले पाएका छैनन् ऋण सुविधा

नेपाल राष्ट्र ब्यांकले वित्तीय पहुँच बढिरहेको दाबी गरे पनि देशमा सञ्चालनमा रहेका मध्ये झण्डै दुई तिहाइ व्यवसायले ऋणको सुविधा नपाएको देखिएको छ।

केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाको भर्खरै प्रकाशित तथ्यांकले देशका करीब ९ लाख व्यवसायमध्ये ५ लाख ८० हजार (६४.४ प्रतिशत) ले ऋणको सुविधा नपाएको देखाएको हो।

यसले देशमा व्यवसाय गर्न सहज ऋणको पहुँच नरहेको संकेत गरेको छ । यद्यपि, यसमध्ये कतिपयलाई ऋण सुविधा आवश्यक नपरेको पनि हुनसक्छ।

आर्थिक गणनाका अनुसार, ३ लाख २० हजार व्यवसायले मात्र ऋण सुविधाको पहुँच पाएका छन् । कृषिसँग सम्बन्धित व्यवसायमध्ये करीब २८ प्रतिशतले मात्रै ऋण सुविधा पाएका छन् । जबकि, थोक र खुद्रा व्यापारका व्यवसायमध्ये ३९ प्रतिशतले ऋणमा पहुँच पाएका छन् । उत्पादनमूलक व्यवसायमध्ये पनि करीब ३९ प्रतिशतले नै ऋण सुविधा पाएको गणनाले देखाएको छ।

ऋण सुविधा लिने व्यवसायमध्ये ३५ प्रतिशतले मात्रै ब्यांकबाट ऋण लिएको देखिएको छ । ३१.३ प्रतिशत व्यवसायले सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । करीब ८ प्रतिशतले फाइनान्सबाट ७.७ प्रतिशत व्यवसायले लघुवित्तबाट ऋण लिएको आर्थिक गणनाले देखाएको छ । १४ प्रतिशत व्यवसायले व्यक्तिसँग ऋण लिएका छन्।

देशका ठूला व्यवसायमध्ये ९० प्रतिशतले ब्यांकबाट ऋण सुविधा पाएका छन् भने ऋणमा पहुँच भएका लघु व्यवसायमध्ये करीब एक तिहाइले मात्र ब्यांकबाट ऋण पाएका छन् । धितो राख्ने क्षमता नभएका लघु व्यवसाय ऋणका लागि सहकारी तथा अन्य वित्तीय स्रोतमा निर्भर छन्।

ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋणमध्ये करीब ६४ प्रतिशत घरजग्गाको धितोमा छ भने बाँकी ऋण पनि सुन चाँदीसहितका स्थिर सम्पत्तिको धितोमा ऋण दिइएको छ ।

यसको अर्थ, जसले धितो राख्न सक्छ उसले मात्र ब्यांकिङ ऋणमा पहुँच पाउँछ । ऋणको पहुँच नपाएका कारण नेपालमा नयाँ व्यवसाय शुरु गर्न वा शुरु गरिएका व्यवसायलाई विस्तार गर्न कठिन छ। 

यो पनि पढ्नुहोस्– ब्याङ्कमा धनीकै रजाइँ 

आर्थिक गणनाले २०७० सालयता देशमा व्यवसाय स्थापनाको क्रम व्यापक रुपमा बढेको देखाएको छ । देशमा सञ्चालनमा रहेका करीब ९ लाख व्यवसायमध्ये करीब ५९ प्रतिशत २०७०–७५ को समयमा स्थापना गरिएका हुन् ।

यो अवधिमा देशमा ५ लाख ३४ हजार नयाँ व्यवसाय शुरु गरिएको छ । त्यस्तै, करीब २७.६ प्रतिशत व्यवसाय २०६०–७० को दशकमा शुरु गरिएका हुन् । करीब १३ प्रतिशत व्यवसाय मात्रै २०६० साल अगाडि शुरु गरिएको आर्थिक गणनाले देखाएको छ।

२०७०–७५ मा शुरु गरिएका व्यवसायमध्ये ५८ प्रतिशत थोक तथा खुद्रा व्यापारसँग सम्बन्धित छन् । २०७० साल अगाडि कृषिसँग सम्बन्धित १२ हजार ८ सय मात्र व्यवसाय सञ्चालनमा रहेकोमा २०७०–७५ को समयावधिमा कृषिसँग सम्बन्धित थप १० हजार ६ सय नयाँ व्यवसाय शुरु भएको आर्थिक गणनाले देखाएको छ।

 

प्रतिकृया दिनुहोस