सडकको गुणस्तर जाँच्ने इन्जिनियरसँग रु. ३ करोड २१ लाख अवैध सम्पत्ति
सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यको वैधभन्दा दोब्बर बढी अवैध सम्पत्ति आर्जन गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक सेवामा रहँदा उनले रु. २,०७,७९,९८६ (दुई करोड सात लाख उनासी हजार नौ सय छयासी) आर्जन गरेको देखिन्छ तर उनको सम्पत्ति रु. ५,२९,४२,४६६ (पाँच करोड उन्तीस लाख बयालीस हजार चार सय छैसठ्ठी) देखिंदा उनले रु. ३,२१,६२,४८० (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी) अवैध आर्जन गरेको देखिएकाले अख्तियारले मुद्दा दायर गरेको हो।
आचार्यले नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सब–ओभरसियर पदमा मिति १२ असोज २०४१ मा सेवा प्रवेश गरी २१ असार २०४३ मा ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए ।
उनी १ माघ २०६४ मा इन्जिनियरमा पदोन्नति भएपछि डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत छन्।
आफू र श्रीमतीका नाममा जग्गाहरु खरीद, घरनिर्माण, सवारी साधन खरीद लगायतमा लगानीका साथै स्रोत नखुलेको रकमसमेत अस्वाभाविक मात्रामा ब्यांकिङ कारोबार गरेको तथा विभिन्न ब्यांक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतमा लगानी गरेको अख्तियारको आरोप छ।
सार्वजनिक पद धारण गरेका आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेकाले अख्तियारले आरोपपत्र दायर गरेको छ।
स्रोत नखुलेको रु. ३,२१,६२,४८० (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी) आचार्यले श्रीमती रितादेवी खनाल आचार्य समेतका नाममा राखेको पाइएकाले श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी शुक्रबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।