नेतृत्वलाई दबाब दिन पार्टी कार्यालय धुम्बाराहीमा धर्ना
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्कदै गएपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय नेताहरु नै धर्नामा बसेका छन्। दुई दर्जन बढी केन्द्रीय सदस्य सहित नेता तथा कार्यकर्ता धर्नामा बसेको केन्द्रीय ठाकुर गैरेले बताए।
उनका अनुसार, पार्टी एकता कायम राख्न दबाब दिन दिउँसो एक बजेबाट शुरु भएको धर्ना शुरु भएको छ। “नेतृत्वलाई दबाब दिन धर्नामा बसेका हौं। कार्यकर्ताको भावना नेतृत्वले सुन्नुपर्छ”, गैरेले भने।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संसद बैठक अन्त्य गरेपछि नेकपाभित्र संकट झनै बढेको छ। गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली इतरका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागेका छन्।
तर, प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन्। नेकपाभित्र संघर्ष चर्किदै गएपछि स्थायी कमिटी बैठक शनिबार एघार बजेसम्मका लागि स्थगित गरिएको छ। यो अवधिमा शीर्ष नेताहरुले सम्वाद मार्फत् निकास निकाल्ने प्रयास गरिरहेका छन्।