श्रीदेवी र माधुरीसँग काम गरेकी नृत्य निर्देशक सरोज खानको निधन
बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ। केही समययता बिरामी रहेकी उनको मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा उपचार गराउने क्रममा हृदयाघातबाट शुक्रबार बिहान निधन भएको हो।
बाल कलाकारबाट फिल्मी करिअरको शुरुआत गरेकी खानले पछि ब्याकग्राउन्ड डान्सरको रुपमा काम गर्न थालेकी हुन्।
सन् १९७४ मा फिल्म 'गीता मेरा नाम’ बाट उनले नृत्य निर्देशनको यात्रा शुरु गरेकी थिइन् । सन् १९८७ मा श्रीदेवीको गीत 'हवा हवाई' बाट उनले पहिचान बनाएकी थिइन् । यसपछि नृत्य निर्देशनको क्षेत्रमा निरन्तर अगाडि बढेकी उनले एकपछि अर्को हिट गीत दिंदै गइन्।
खानले चार दशक लामो करिअरमा २ हजारभन्दा बढी गीतमा नृत्य निर्देशन गरेकी थिइन् । उनले सन् १९८० देखि ९० को दशकमा आफ्नो सर्वश्रेष्ठ काम अभिनेत्रीहरु श्रीदेवी र माधुरी दीक्षितसँग गरेकी थिइन्।
श्रीदेवीको लागि फिल्म ‘नगीना’ र ‘चांदनी’ का गीतहरुमा कोरियोग्राफी गरेकी उनले माधुरीको लागि गरेको नृत्य निर्देशनबाट ख्याति हासिल गरिन्। माधुरीको लागि ‘एक दो तीन’, ‘तम्मा तम्मा लोगे’, ‘धक-धक करने लगा’ जस्ता कैयौं हिट गीतहरुमा कोरियोग्राफी गरेकी थिइन्।
खानले 'बाजीगर', 'मोहरा', 'डर', 'दिलवाले दुल्हनिया ले जाएंगे', 'ताल', 'वीर जारा', 'परदेश', 'सावरिया', 'फना', 'लगान', 'तनु वेड्स मनु रिटर्न्स', 'देवदास', 'जब वी मेट', 'मणिकर्णिका' लगायत फिल्ममा काम गरेकी छिन् । पछिल्लो पटक उनले सन् २०१९ मा आएको फिल्म ‘कलंक’ मा माधुरी दीक्षितको लागि ‘तबाह हो गए’ गीतमा नृत्य निर्देशन गरेकी थिइन्। - एजेन्सी