कोरोनापछिको पर्यटनका लागि प्रोटोकल तालिम शुरु
नेपाल पर्यटन बोर्डले सम्बन्धित पर्यटन व्यवसायीका लागि पर्यटन प्रोटोकल तालिम शुरु गरेको छ।
कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर’को प्रयोगका लागि यस्तो तालिम शुक्रबारदेखि शुरु गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार प्रोटोकलको प्रभावकारी प्रयोग गर्न नेपाल पर्यटन बोर्डले पर्यटन सम्बद्ध संघ–संस्थाहरुसँगको सहकार्यमा यस्तोे तालिम शुरु गरेको हो । तालिम भर्चुअल माध्यमबाट दिएको हो।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले तालिममा ६ सय जनालाई सहभागिता गराइएको बताए । यसका लागि शुक्रबारदेखि चरणबद्ध रुपमा यस्तो तालिम शुरु भएको हो।
यस्तो तालिम बोर्डले होटल संघ नेपाल, नेपाल एशाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्, ट्रेकिङ्ग एजेन्सिज एशाेसिएसन अफ नेपालमा सिफारिश आएका व्यक्तिका आधारमा गरिएको हो।
तीन वटा संस्थाबाट दुई\दुई सय जनाका दरले तालिममा सहभागी गरिएको हो यस्तो तालिम पर्यटन अन्य संघ–संस्थाहरुसँगको समन्वयमा प्रादेशिक स्तरमै दिन सकिने पनि बोर्डले जानकारी दिएको छ । बोर्डले यस्तो तालिम आगामी दुई सातासम्ममा इच्छुक सबै संघसंस्थाका प्रतिनिधिलाई दिनसक्ने पनि उल्लेख गरेको छ।
८ आषाढ २०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट जारी भएको प्रोटोकलमा आधारित भएर पर्यटन व्यवसायीहरुका लागि फन्डामेन्टल फर सेक्योर्ड स्टे एण्ड एक्सपिरियन्स एन्ड इट्स मार्केटिङमा आधारित रहेर उक्त प्रोटकल तालिम दिएको छ।
बोर्डका सीईओ रेग्मीका अनुसार पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किंदासम्म अपनाउनुपर्ने विषय प्रोटोकलमा समावेश गरिएको छ । यस तालिमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङ्गको प्रयोग गर्न सक्ने छ ।
जसले पर्यटन व्यवसायलाई जीवन्त बनाउन तथा व्यवसायी व्यवसायी बीच समन्वय गर्दैै समग्र पर्यटन क्षेत्रको विकासका लागि समुचित वातावरण बनाउने बनाउने पनि उल्लेख छ।