टिप्पणी सोमबार, असार २२, २०७७

आज पनि किनबेच भइरहेकै छ मान्छे

हिमालखबर

आज पनि किनबेच भइरहेकै छ मान्छे
स्केच: भानु भट्टराई

मानव समाजको सबैभन्दा भयावह स्वरुप दासप्रथा नै हो । इतिहासको कालखण्डलाई नियाल्दा मिश्र, रोम, बेबिलोनिया र युनानमा मानिसले मानिसलाई खरीद बिक्री गर्ने चलन खुला थियो । आजको आधुनिक युगमा कानून बनाएर आर्थिक उन्नति, वैदेशिक रोजगार, यौन व्यापार आदिका नाममा मानव बेचबिखन गर्ने चलन आयो।

डा. लक्ष्मीप्रसाद खतिवडा

मानव इतिहासको विभिन्न कालखण्डमा तीनवटा कुराले धेरै ठूलो असर गरेको छ । ती तीनवटा कुरा हुन्, दास व्यापार, युद्ध र महामारी । यसपटक दास व्यापारलाई केन्द्र बनाई यो सामग्री तयार गरिएको छ।

पूर्वीय परम्परामा दास भन्नाले  नोकर र भक्त भनेर दुई अर्थमा लिइन्छ । प्रभु (भगवान ?) प्रति जीवन अनुगृहित गरेको भक्त दास हो  भने सामाजिक, आर्थिक रुपले मालिकप्रति समर्पित व्यक्तिलाई पनि दास शब्दले जनाउँछ ।

पूर्वीय परम्पराको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा (शतम् मे गर्दभानाम् शतम् ऊर्णाऽवतीनाम् शतम् दासान् अति स्रजः) मा सय गधा, सय भेडा र सय दासको भेटी चढाएको कुरा आउँछ । यसले वैदिक कालमा पनि दास प्रथा रहेछ भन्ने प्रमाणित गर्दछ।

प्राचीन ग्रीक र रोममा स्लाबहरू असल दास हुन्छन् भन्ने मान्यताले ग्रीक र ल्याटिन भाषाबाट विकास भएको अङ्ग्रेजी भाषामा दासलाई स्लेभ भनियो ।

मानव समाजको सबैभन्दा भयावह स्वरुप दासप्रथा नै हो । इतिहासको कालखण्डलाई नियाल्दा मिश्र, रोम, बेबिलोनिया र युनानमा मानिसले मानिसलाई खरीद बिक्री गर्ने चलन खुला थियो भने आजको आधुनिक युगमा कानून बनाएर आर्थिक उन्नति, वैदेशिक रोजगार, यौन व्यापार आदिका नाममा मानव बेचबिखन गर्ने चलन आयो ।

दासत्वको इश्वरीकरण

युनानी साहित्यको इतिहास नियाल्दा इश्वी पूर्व ९०० का होमरका ओडेसी तथा इलियर्ड महाकाव्यमा दास प्रथा र यसले उत्पन्न गरेका नैतिक पतनको वर्णन पाइन्छ । त्यसपछि युनानी उपनिवेश काल शुरु हुन्छ र त्यही कालमा दास किनबेच प्रथाले संस्थागत रुप लिएको थियो (द पपुलेस अफ एथेन्स) । युनानमा त चौथो  शताब्दीसम्म  स्वतन्त्र नागरिकभन्दा दासको जनसङ्ख्या बढी थियो भनिन्छ ।

प्लेटो र सिसलीको एउटा प्रान्त सेराक्युजका राजा डायोनिसस बीच मतभेद भएर प्लेटोलाई इजारन टापुमा निर्वासनमा पठाइएको थियो । ('पाश्चात्य राजनीतिक चिन्तन', महर्षि दयानन्द विश्वविद्यालय)। इजारनबाट फर्केपछि इश्वीपूर्व ३८६ मा एथेन्समा प्लेटोले एकेडेमीको स्थापना गरे । उक्त एकेडेमी परम्परा नै आज संसारभर विश्वविद्यालयका नामले परिचित छ। 

युनानी समाज उच्च, मध्यम र निम्न वर्गमा विभाजित थियो । राजवंश, दरबारिया, राज्यका पदाधिकारी, पुरोहित र सामन्तहरू उच्च वर्ग; व्यापारी र कृषकहरू मध्यम वर्ग; र दासहरू निम्न वर्गमा पर्थे । दास विद्रोहका विभिन्न चरण छन् । दास विद्रोहको तेस्रो चरणमा लगभग १०२-७१ (बीबीसी डट सिओ डट युके हिस्टोरिकल फिगर) इश्वीपूर्वमा स्पार्टाकसले  रोमन साम्राज्यको दासप्रथा विरुद्ध विद्रोह गरे ।

किनिएका दासबाट युद्ध लडेर रोमको उत्थान भएको र युद्धमा हार्ने पक्षलाई दासको रुपमा प्रयोग गर्ने गरेको इतिहास साक्षी छ (युनानका इतिहास, मुक्त ज्ञानकोश, विकिपिडिया)। पर्सियाको युद्ध, डोरियन (एउटा जाति) हरुको स्पार्टा (टापु) को युद्धमा दासहरूको प्रयोग गरिएको पाइन्छ । त्यस बखत युरोप, मध्यपूर्व र पश्चिम एशियामा दास खरीद बिक्रीको चरम अवस्था थियो (फिरदौस खान, ग़ुलाम प्रथा : दुनिया की हाट में बिकते हैं इंसान, वेभ आर्काइभ डट अर्ग) ।

युरोपमा १५ औं शताब्दीमा दास व्यापारले नयाँ मोड लियो । पोर्चुगलले अफ्रिकी दासको व्यापारमा लगानी गर्यो । युरोपियनहरू भौगोलिक अन्वेषण, खनिज, धातु र आर्थिक वृद्धिका लागि पानीजहाजमा एशिया, अफ्रिका, अमेरिका आदि देशमा पुगे ।

१६औं शताब्दीमा आइपुग्दा एटलान्टिक दास व्यापार (एटलान्टिक स्लेभ ट्रेड) ले संस्थागत रुप लियो । १६औं शताब्दीमै ब्रिटेनले ठूला ठूला दास व्यवसाय सञ्चालन गर्यो।  जमीन मार्गबाट चलेको दास व्यापार अब समुद्री मार्गबाट हुन थाल्यो । दासहरु अफ्रिका, पूर्वी युरोप र पश्चिम एशियाबाट आपूर्ति गरिन्थ्यो । दास व्यापारी अफ्रिकन दासलाई एटलान्टिक महासागर पारि लगेर बिक्री गर्दथे। अमेरिकामा खेती र खनिज कार्य दासले गर्दथे ।

युद्धबन्दीहरूलाई दासको रुपमा प्रयोग गर्ने चलन यथावतै थियो । गैर इसाइ युद्धबन्दीलाई त झन् येसुका शत्रुका नामले पुकारिन्थ्यो। धर्माधिकारी (पोप) राजाभन्दा शक्तिशाली हुन्थे। धर्माधिकारीले यस्ता बन्दीलाई दासका रुपमा खरीद बिक्री गर्न पाइने धर्मादेश नै जारी गरेका थिए ।

१६औं शताब्दीसम्म रङ्गभेद नीति त्यति बलियो भइसकेको थिएन । दासदासीबाट सन्तान जन्माउने अधिकार भएकाले आज पनि पोर्चुगल र स्पेनमा श्वेत अश्वेतहरुको रक्तमिश्रण बढी मात्रामा पाइन्छ ।

इतिहासको कालखण्डमा दास व्यापार पछि पूँजीवादले साम्राज्य चलायो । पूँजीवाद सामान्यतया सामाजिक प्रणाली हो। सामन्तवादको भूस्वामित्व र दासप्रथा पछिको आर्थिक प्रणाली वा उत्पादनको साधनमाथि निजी स्वामित्व स्थापनाको क्रममा पूँजीवादको विकास भएको थियो । यसरी पाश्चात्य सभ्यताको आधुनिक इतिहासमा दास व्यापार पछि पूँजीवादले प्रभाव जमाएको हो ।

पूँजीवादले मानव समाजलाई लाभ वा नाफाको कुरा सिकायो । यसले मानवीयता भन्दा बढी बजार र नाफामा जोड दियो । यसको विकास हुन थालेपछि दास–मालिक सम्बन्ध श्रमिक–मालिकका रुपमा परिणत भयो ।

उत्पादनका साधन र बजार युरोप र अमेरिकाको नियन्त्रणमा पुग्यो । मालिकपन (मालिकियत) सँगै विश्व बजार कसरी नियन्त्रण गर्ने भनेर युरोपियन र अमेरिकीहरू चिन्तन गर्न थाले । फलस्वरुप युरोप र अमेरिकामा आधुनिक सामाजिक, आर्थिक सिद्धान्तको प्रतिपादन हुनथाल्यो । इमानुएल कान्टले भौतिकवादको व्याख्या फरक ढङ्गले गरे । कान्टले प्रकृति र शुद्ध नैतिकताको कुरा गरे ।

उनले भौतिक वस्तु परिवर्तनशील भएजस्तै बुद्धि पनि परिवर्तनशील छ भने । ज्ञानशक्ति अन्तरिक्षमा निहित हुन्छ र मानिसले आत्मिक शक्तिका बलले त्यसको अर्थ बुझ्दछ । ज्ञानशक्तिमा आत्मिक भ्रम (इन्टियुसन) मिसिएपछि सही अर्थमा फरक आउँछ र मानिसले गर्ने निर्णयमा एकरुपता हुँदैन पनि भने ।

कान्टले ईश्वर ज्ञानको एकमात्र प्रमाण हो, मन होइन भनेर ईश्वरलाई झन् शक्तिशाली बनाए । दास मालिकका ऋणी हुन्छन् भन्ने जनविश्वास भएका वेला काण्टले ऋण चुकाउनु मानिसको अपवाद रहित कर्तव्य हो भने । यसबाट मालिकको सेवा गर्नु दासको अपवाद रहित कर्तव्य हो भन्ने अर्थ लाग्यो, लगाइयो ।

त्यतिवेला धर्मले राजनीति नियन्त्रण गर्थ्यो र इसाइयत (इसाइ धर्मको प्रभाव) को दबदबाले गर्दा युरोप र अमेरिका सभ्य राष्ट्र अरु असभ्य राष्ट्र हुन् भन्ने मानसिकताको विकास हुन थाल्यो । अत: समाजमा शोषण गर्ने पूँजीपति वर्ग र श्रम गर्ने शोषित वा सर्वहारा वर्गको जन्म भयो ।

कान्ट, हेगेल जस्ता दार्शनिकहरू र एडम स्मिथ, डेबिड रिकार्डो जस्ता अर्थशास्त्रीहरूको विचारलाई केही खण्डन र केही सुधार गर्दै कार्लमार्क्सले पूँजीको भौतिकवादी व्याख्या गरे। पक्षपक्षबीचको अन्तरविरोध वा विरोधाभास नै द्वन्द्व हो । अर्थात् मजदूर र मालिक अनि शासक र शासितबीचको अन्तरविरोध नै द्वन्द्व हो भने ।

यसै कारणले आधा संसार कम्युनिजम पद्धतिमा गयो र आधा संसार पूँजीवादी विचारधारामै उभियो । तर कम्युनिजमले पनि रङ्गभेद, जातिभेद र वर्गभेद जस्ता  द्वन्द्वको समाधान गर्न सकेन । पूँजी वृद्धि नगरी समाज विकास गर्न सकिंदैन भन्ने मान्यताले कम्युनिजमभित्र झन् ठूलो पूँजीवादी चेतनाले घर बनायो ।

फलस्वरुप पूँजीवाद र कम्युनिजममा पूँजी वृद्धिको मामलामा केही फरक देखिएन । दास स्वामी, श्रमिक पूँजीपति हुँदै दासप्रथा अनुहार बदलेर शासक शासितका रुपमा देखापर्यो । सर्वहाराले सत्ता पाएपछि पूँजीपति पलायन भए भने निम्नवर्ग दासबाट परजीवी मानवमा परिणत भयो ।

आजकाल पूँजीवादले स्वरुप परिवर्तन गरेको छ । उपनिवेश खडा गरेर निर्धन राष्ट्रहरुलाई नियन्त्रणमा लिने चलनमा अवरोध भएपछि अचेल आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदि क्षेत्रबाट लक्षित समाजमा प्रवेश गरी नागरिकलाई एकअर्काबीच झगडा लगाउने, धर्म परिवर्तन गराएर मुलुकको एकताका सूत्रहरूमाथि आक्रमण गराउने पद्धतिको विकास भयो ।

दाता राष्ट्रको नाममा स्थानीय संस्थामा घुसेर आफ्नो बजार विस्तार गर्न सहकार्य भन्दै लक्षित बजारका सरकारमाथि अनावश्यक दबाबबाट तेस्रो विश्वका कतिपय मुलुक लुटिए र अझै लुटिंदैछन् ।

मार्क्स र दास

वर्तमान युगमा समेत मानिसहरू आधुनिक दासको रुपमा छन् । मानव बेचबिखन अवैधानिक दास व्यवसाय हो भने म्यानपावरका माध्यमबाट भएका लेबर, घरेलु कामदार, यौन उद्योगका श्रमिक वैधानिक दास हुन् (ग्लोबल सेलरी इन्डेक्स २०१६) ।

मार्क्सले 'दास क्यापिटल' लेखे तर युरोपियनहरुले अफ्रिकीहरुलाई दास बनाएर खरीद बिक्री गरेको इतिहास देखेनन्, लेखेनन् । तर उनले 'द पोभर्टी अफ फिलोसफी' मा भने दास र पूँजीवादको सम्बन्ध देखाए ।

अमेरिकामा दास नभए कपास फल्दैनथ्यो किनकि दास नै उत्पादनका साधन थिए । कपास नभए उद्योग चल्दैन । उद्योग नभए पूँजीवाद चल्दैन । पूँजीवाद र दास प्रथाबीच यस प्रकारको सम्बन्धले गर्दा मार्क्सले दासप्रथा चाहिन्छ तर दासलाई केही सुविधा दिनुपर्छ भन्ने अर्थ लगाए ।

दक्षिण एशियामा पनि दासको शाब्दिक, आर्थिक र सामाजिक व्याख्या भएको छ । जस्तै युद्धमा बन्दी बनाइएका, पेट भर्न आफूलाई नै बेचेका, दास दासीबाट उत्पन्न भएका, स्वामीको ऋणमा डुबेका, आमाबाबुले बेचेका दास आदि आदि ।

नेपालमा राणाकालसम्म वैधानिक दासप्रथाको चलन रहेको थियो । दास चाहिएको व्यक्तिले दासका मालिकहरुसँग दास खरीद गर्न सक्थे । दासहरु कृषि तथा अन्य घरेलु काममा लगाइन्थ्यो । राणा शासकले आमजनतालाई दास नै ठान्थे । श्री ३ चन्द्रशमशेरले ब्रिटिश सरकारलाई रिझाउन नेपाली युवकहरुलाई विदेशीले गरेको युद्धमा होमिदिए । यो पनि दासप्रथाकै एउटा प्रकार हो ।

अब दासप्रथा वैदेशिक रोजगारीका नाममा कानूनतः सञ्चालन हुँदैछ । नेपालमा पनि दास प्रथा थियो, छ र रहनेछ । संसारका वेश्यागृहमा बेचिएका यौन श्रमिक पनि दास नै हुन् । विदेश पढ्न गएका धेरै नेपाली विद्यार्थीको हालत दासभन्दा फरक छैन । बीस घन्टाभन्दा बढी काम गर्नु गैरकानूनी हुन्छ तर युरोप, अमेरिका, अष्ट्रेलियामा विश्वविद्यालयले बीस घण्टाभन्दा बढी काम गराएर 'फि' का नाममा पैसा बटुल्छ । नत्र विश्वविद्यालयले कोर्ष पनि थप्दैन र भिसा पनि थप्दैन । यस्ता विद्यार्थी परिबन्दका दास हुन्। यो पनि आधुनिक दासको असल नमूना हो ।

दासको पहिचान फरक भएको छ । यौन उद्योगका श्रमिक दास, वैदेशिक रोजगारका नामले चिनिने पारिवारिक वा घरेलु दास, झूटो आश्वासनमा भोट हाल्ने जनता राजनीतिक दास, लठैतहरूको आदेश शिरोपर गर्ने आफू विद्रोह गर्न नसक्ने बौद्धिक दास आदि आदि।

पूँजीवादी बजारमा किनबेचका धेरै वस्तु छन् । पूँजीवादको स्वरुप फरक छ । कम्युनिजममा सर्वहारावादी सत्ताले पूँजी वृद्धि गर्ने, पूँजीवादमा दास मालिकले पूँजी वृद्धि गर्ने, पूँजी वृद्धि गर्ने साधन चाहिं मानिस नै भएकाले आजको विश्व बजारमा मानिस किनबेचका वस्तु भन्दा बाहिर छैन ।

(डा. खतिवडा ‍दक्षिण एसियाको प्राचीन ज्ञान पद्धति विषयका पोष्ट डक्टरेट फेलो हुन् ।)

प्रतिकृया दिनुहोस