म्यानमारको बहुमूल्य पत्थर खानीमा पहिरो जाँदा कम्तीमा १६२ जनाको मृत्यु
म्यानमारको उत्तरी कचिन प्रान्तमा पर्ने महुमूल्य पत्थर ‘जेड’ खानीमा बिहिबार पहिरो जाँदा कम्तीमा १६२ जनाको मृत्यु भएको छ । अरु कयौँ हराइरहेको बताइएको छ ।
भिडियोमा कैद भएको एउटा ‘नाटकीय’ दृश्यमा पानीले भरिएपछि एउटा भित्तो नै बगेर खुला ठाउँमा पुगेको देखिन्छ । त्यसपछि त्यहाँ ठूलो छाल आएको छ । पहिरो गएको १२ घन्टासम्ममा १६२ जनाको शव निकालिएको र ५४ जना घाइतेलाई स्थानीय अस्पताल पठाएको त्यहाँका अधिकारीले जनाएका छन् ।
बिहीबार भारी वर्षा हुने भन्दै स्थानीय अधिकारीले मान्छेहरुलाई त्यता नजान चेतावनी पनि दिएको थियो । बहुमूल्य पत्थर जेडको खानीमा गएको पहिरोबाट भएको यो सबैभन्दा ठूलो क्षति हो । सन् २०१५ मा भएको एउटा दुर्घटनामा त्यहाँ ११३ जनाको मृत्यु भएको थियो ।
“जेड खोज्न गएकाहरु माटाको धूलोमा निसास्सिएका थिए, जुन भारी वर्षापछि गएको पहिरोका कारण भएको थियो”, त्यहाँको ‘फायर सर्भिस’ लाई उधृत गर्दै एसोसिएट प्रेसले उल्लेख गरेको छ । रोयटर्सका अनुसार मृत्यु हुनेहरु सबै जेड खोज्न गएका व्यक्ति हुन् ।
म्यानमार जेडको प्रमुख स्रोत हो । त्यहाँका खानीहरुमा बारम्बार दुर्घटना हुन्छन् । खानीबाट फालिएको माटो र ढुङ्गामा जेड खोज्न हजारौँ व्यक्ति त्यहाँ पुग्छन् । म्यानमारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढीको जेड कारोबार गर्छ ।
-एजेन्सीहरुको सहयोगमा