रौतहटमा ९७० जना कोरोना संक्रमित निको भए
जिल्ला प्रशासन कार्यालय रौतहटले हालसम्म ९७० जना कोरोना संक्रमित निको भएर आइसोलेसनबाट फिर्ता भएको जनाएको छ।
जिल्लामा अहिलेसम्म १३ हजार २३८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा एक हजार १९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अझै पनि ७५४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।
जिल्लामा २१ महिला र २०० पुरुष गरी अझै पनि २२१ जना आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्।
रौतहटका विभिन्न क्वारेन्टिनमा ७२ महिला र ३५४ पुरुष गरी अझै पनि ४२६ जना रहेका छन् । क्वारेन्टिनमा बस्नेहरुको संख्या दिनानुदिन कम भइरहेको छ । जिल्लाका कतिपय क्वारेन्टिन खाली भइसकेका छन्।
कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमण देखिएका र आइसोलेसनमा रहेकाहरुको आत्मविश्वास पनि उच्च रहेको पाइएको छ।
ईशनाथ र बौद्धीमाई नगरपालिकामा समुदायस्तरमा कोरोनाको संक्रमण देखिंदा जिल्ला प्रशासन कार्यालयले तत्काल बन्दाबन्दी तथा आवतजावतमा रोक लगाएपछि संक्रमण रोकिएको देखिएको छ।
प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमित देखिएको रौतहटको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । हरेक दिन कोरोना संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको पनि देखिएको छ।
सञ्जय मित्र, रौतहट