संघीय संसदको अधिवेशन हठात् अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति
संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले असहमति जनाएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको स्थायी समिति बैठक चलिरहेकै बेला अकस्मात् क्याबिनेट बोलाएर मन्त्रीहरू समेत सबै उपस्थित हुन नपाउँदै जारी संघीय संसद अन्त्य गर्ने निर्णय गरेका थिए।
कांग्रेसले उक्त निर्णयलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रतिक्रिया जनाएको छ।
"अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरू बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ," कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो।"
कांग्रेसले सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा भएपनि राजनीतिक दलभित्रको द्वन्द्वको दुष्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै नभएर आपत्तिजनक समेत रहेको प्रतिक्रिया दिएको छ।
"विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो। तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ," विज्ञप्तिमा भनिएको छ।
"जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? सम्माननीय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात् अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ," विज्ञप्तिमा भनिएको छ।