संसद् अधिवेशन अन्त्य : 'विनाशकाले विपरीत बुद्धि !'
बिहीबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गर्यो । त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरिन् र यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई पठायो।
संसद्को अधिवेशन अप्रत्याशित रुपमा अन्त्य गरिएकोप्रति राजनीतिक दलका नेता तथा सांसदहरुबाट प्रतिक्रियाहरु आउने क्रम जारी छ । प्रतिपक्षी दलका नेताहरु मात्र होइन, सत्तारुढ दलका सांसदहरुले समेत एकाएक विकसित परिघटनाप्रति संशय प्रकट गरेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्मा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेको अवस्थामा चालू अधिवेशन अप्रत्याशित रुपमा अन्त्य गरिनुलाई 'विनाशकाले विपरीत बुद्धि' को संज्ञा दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'पार्टीभित्रको किचलोको अचानोमा संसद् ! संसद् छलेर कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।'
यस्तै, पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि नेकपाका नेताहरुलाई झन्डै दुई तिहाइ बहुमतको सरकार नपचेको जस्तो देखिएको भन्दै ट्वीटरमा तिखो कटाक्ष गरेका छन् । 'त्यो अजीर्णताले संसद् र लोकतन्त्रलाई नै हानि गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो', उनले लेखेका छन् । नेता भट्टराईले ठूलो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् भनेर सबै सजग रहेर खबरदारी गर्न पनि आह्वान गरेका छन्।
सत्तापक्षकै सांसदहरुको प्रतिक्रिया पनि त्यस्तै छ । नेकपाका सांसद झपट रावलले संभावित संकटको संकेत गर्दै फेसबूकमा लेखेका छन्, ‘उत्तेजना र प्रतिशोधले विनाशको बाटो रोज्छ, सकारात्मक छलफल र बहसले निर्माणको बाटो रोज्छ।’
रावलले हिमालखबरसँग भने, "यो कुनै आधारविना पार्टी एकता गर्दाको एउटा सानो परिणाम हो । सैद्धान्तिक, वैचारिक, राजनीतिक रुपमा छलफल नै नभई आधारहीन तरिकाले पार्टी एकता भयो, यसले ठूलै दुर्घटना निम्त्याउँछ, त्यही दुर्घटनामध्येको यो एउटा उदाहरण मात्र हो । अझै के के हुने हो !”
राज्य व्यवस्था समितिका सदस्य समेत रहेका सांसद रावलले कम्तीमा अब नागरिकता विधेयक पारित गर्न ढिलाइ गर्न नहुने बुझाइ बढिरहेको अवस्थामा एकाएक संसद् अधिवेशन अन्त्य गरिंदा लाखौं नागरिकता विहीनहरु अन्योलमा परेको बताए।
कोरोनाभाइरसको संक्रमण जोखिम र बन्दाबन्दीका बीच २६ वैशाखमा संसद्को बजेट अधिवेशन शुरु भएको थियो । संसद् अधिवेशन अन्त्य गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसलाई नै कारण देखाएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार, बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रम ओलीले कोरोना संक्रमण बढिरहेकाले संसद् बैठक लम्ब्याइरहनु उचित नहुने बताएका थिए।