रोटा भाइरसबाट लाग्ने पखाला विरुद्धको खोप कार्यक्रम शुरु
रोटा भाइरसबाट लाग्ने झाडापखाला विरुद्धको खोप कार्यक्रम मुलुकमा शुरु भएको छ।
नियमित खोप कार्यक्रममा बिहीबारदेखि रोटा भाइरस विरुद्धको नयाँ खोप समावेश गरिएको हो। बच्चा जन्मिएको ६ हप्तामा पहिलो र १० हप्तामा दोस्रो पटक मुखबाट रोटा विरुद्ध खोप दिइन्छ। यो खोप मुलुकभरका १६ हजारभन्दा बढी खोप केन्द्र मार्फत उपलब्ध गराइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यो खोप कार्यक्रमको उद्घाटन गरे। मन्त्री ढकालले शिशु तथा बालबालिकाको जीवनरक्षाका लागि रोटा खोप राष्ट्रिय कार्यक्रममा समावेश गरेको बताए।
नयाँ खोप कार्यक्रमसँगै मन्त्रालयले सरसफाइ सम्बन्धी ६ वटा व्यवहार परिवर्तनका कार्यक्रम पनि शुरु गरेको छ।
मुलुकमा पाँच वर्षमुनिका करीब ३० लाख बालबालिकामध्ये बर्सेनि ११ लाखदेखि १२ लाख प्रभावित हुने गरेका छन्। यीमध्ये करीब साढे चार लाख बालबालिकालाई रोटा भाइरसका कारण झाडापखाला लाग्ने गरेको छ। अध्ययनले झाडापखालाबाट हुने मृत्युमा रोटा भाइरस प्रमुख कारण रहने गरेको देखाएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम रोटा विरुद्धको खोप सेवा शुरु भएपछि मुलुकमा रोटा भाइरसबाट हुने मृत्यु कम हुने दाबी गर्छन्।