अर्थ/बजार विहीबार, असार १८, २०७७

अघिल्ला दुई दिन उछाल आएको शेयर बजारमा बिहीबार नकारात्मक सर्किट ब्रेकर

हिमालखबर

अघिल्ला दुई दिन उछाल आएको शेयर बजारमा बिहीबार नकारात्मक सर्किट ब्रेकर

शेयर बजार ६ प्रतिशतले घटेपछि बिहीबारको कारोबार स्थगित गरिएको छ । बजार खुलेको केही बेरमै घट्न थालेको नेप्सेमा तीन पटक नकारात्मक सर्किट ब्रेकर लागेर १ घण्टा ४० मिनेटमै कारोबार रोकिएको हो।

लगानीकर्ता आत्तिएसँगै शेयर बजार परिसूचक नेप्से ८० अंकले घटेर १ हजार २५६ विन्दुमा ओर्लिएको छ।

मंगलबार र बुधबार दुई दिन शेयर बजारमा उछाल आएको थियो । यी दुवै दिन ६ प्रतिशत विन्दुले बजार बढेपछि सकारात्मक सर्किट ब्रेकर लागेको थियो।

बिहीबार १४२ कम्पनीका रु. ४७ करोड ६६ लाख बराबरका १० लाख ६१ हजार कित्ता शेयरको किनबेच भएको छ।

बिहीबारको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक नकारात्मक भएका छन् । सबैभन्दा धेरै होटल समूह ६.६९ प्रतिशत, जीवन बीमा समूह ७.६७ प्रतिशत र ब्याङ्किङ समूह ७.४३ प्रतिशतले घटेका छन्।

सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रभु ब्याङ्कका लगानीकर्ताले ९.९२ प्रतिशत, हिमालयन डिस्टिलरीका लगानीकर्ताले ९.२७ प्रतिशत गुमाएका छन्।

बजारमा नकारात्मक सर्किट ब्रेकर लागे पनि स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ८.०७ प्रतिशत नाफा कमाए।

प्रतिकृया दिनुहोस