कोरोनाभाइरसको उपचार पतञ्जलीको कोरोनिलबाट हुन्छ भनेर कहिल्यै नभनेको आचार्य बालकृष्णको दाबी
भारतीय आयुर्वेद कम्पनी पतञ्जलीका सीईओ आचार्य बालकृष्णले कोरोनाभाइरसको उपचार पतञ्जलीको कोरोनिलबाट हुन्छ भनेर पतञ्जलीले कहिल्यै नभनेको दाबी गरेका छन्।
बाबा रामदेवले गत २३ जूनमा पतञ्जली कम्पनीबाट कोरोनिल नामक औषधि लन्च गर्दै कोभिड–१९ को उपचारका लागि यो औषधिले शतप्रतिशत काम गर्ने दाबी गरेका थिए।
पतञ्जली आयुुर्वेदले उत्पादन गरेको 'कोरोना किट'लाई लिएर चण्डीगढको एक अदालतमा मिलावटी औषधि बेचेको तथा धोकाधडी गरेको आरोपमा विभिन्न धारामा मुद्दा दायर गरिएको छ। यसैगरी राजस्तान सरकारले यस औषधिको ‘क्लिनिकल ट्रायल’ लाई लिएर निम्स अस्पतालसँग स्पष्टीकरण सोधेको थियो।
पतञ्जलीका नाममा जारी नोटिसको जवाफमा बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले भनेको छ– कम्पनीले कुनै कानून उल्लंघन गरेको छैन ।
कम्पनीका सीईओ आचार्य बालकृष्णले पतञ्जलीले कम्पनीबाट उत्पादित औषधिले कोरोना निको हुन्छ कहिल्यै नभनेको बताएका छन् ।
कम्पनीले आफ्नो सफाइमा ‘कोरोना किट’ नामक कुनै औषधिको उत्पादन गरेको र उसलाई घातक भाइरसको उपचारका लागि प्रचारित गरेको पनि अस्वीकार गरेको छ।
कम्पनीले केवल दिव्य श्वासरी वटी, दिव्य कोरोनिल ट्याब्लेट र दिव्य अणु तेललाई बाहिर पठाउन सजिलो होस् भनेर एक प्याकेजिङ कार्टुनमा प्याक गरेको हो, भनेको छ।
नोटिसको जवाफमा कम्पनीले कोरोना किट नामक कुनै किट व्यावसायिक रुपले बिक्री नगरेको र कोरोनाको उपचारका लागि प्रचार नगरेको दाबी गरेको छ।
कम्पनीले भनेको छ– हामीले मिडियाका सामु औषधिको सफल परीक्षणको केवल प्रमोट गरेका हौं।
उत्तराखण्ड आयुर्वेद विभागले कम्पनीको एक शाखा दिव्य फार्मेसीले दिएको उत्तरको अध्ययन गरिरहेको जनाएको छ।
उत्तराखण्ड आयुर्वेद विभाग लाइसेन्सिङ अधिकारी वाईएस रावतले रामदेवले आफ्नो कम्पनीबाट उत्पादन गरेको औषधिबाट कोरोनाको उपचार हुने दाबा गरेको सबैले देखेको बताएका छन् । अरु जाँचको आवश्यकता रहेको पनि उनले बताएका छन् ।
हरिद्वार स्थित पतञ्जली योगपीठमा पत्रकारहरुसँग रामदेवले भनेका थिए– ‘यो औषधिले शतप्रतिशत कोभिड–१९ का बिरामीहरुलाई फाइदा पुर्याइरहेको छ । यसको १०० प्रतिशत नियन्त्रित क्लिनिकल ट्रायल गरिएको थियो । जसमा तीन दिनभित्र ६९ प्रतिशत बिरामी निको भए । र, उनीहरुको कोरोना जाँचको रिपोर्ट पनि नेगेटिभ नै आयो ।’
रामदेवले यो प्रोजेक्टमा जयपुरको निम्स युनिभर्सिटी उनको साझेदार संस्था रहेको र २८० बिरामीलाई परीक्षणमा सहभागी गराइएको मा १०० प्रतिशत नै सञ्चो भएको बताएका थिए ।
त्यसको केही घण्टामै भारतको आयुष मन्त्रालयले पतञ्जलीलाई यस औषधिमा रहेका विभिन्न जडिबुटीको मात्रा एवं विवरण यथाशीघ्र उपलब्ध गराउन र मन्त्रालयको यस विषयमा जाँचको टुंगो नलाग्दासम्म कम्पनीको यस उत्पादनको विज्ञापनमा रोक लगाएको थियो ।
यस विषयमा उत्तराखण्ड आयुष विभागले पनि पतञ्जलीलाई नोटिस जारी गर्दै जवाफ मागेको थियो ।
यसपछि २७ जून मा रामदेव र पतञ्जली आयुर्वेद लिमिटेडका विरुद्ध मिलावटी औषधि र धोखाधडीसँग सम्बन्धित विभिन्न मुद्दा दायर गरिएको थियो ।
यसअघि २६ जूनमा जयपुरको ज्योतिनगर थानामा एफआईआर मुद्दा दर्ता गरिएको थियो ।
मुद्दामा रामदेव, आचार्य बालकृष्ण, वैज्ञानिक अनुराग वाष्र्णेय, निम्सका अध्यक्ष डा बलवीरसिंह तोमर र निर्देशक अनुराग तोमरलाई आरोपी बनाइएको छ।
–एजेन्सीकाे सहयाेगमा