समाचार बुधबार, असार १७, २०७७

कोरोनाभाइरसको १४८ खोप बन्दै, एउटा अन्तिम चरणको परीक्षणमा

हिमालखबर

कोरोनाभाइरसको १४८ खोप बन्दै, एउटा अन्तिम चरणको परीक्षणमा
रुसको सेन्ट पिटर्सबर्गस्थित बायोकैड बायोटेक्नोलोजी कम्पनीमा खोप विकासमा सहभागी अनुसन्धानकर्मी।

विश्वभर कोरोनाभाइरसको १४८ खोप बनिरहेको छ भने १७ वटाको मान्छेमाथि परीक्षण शुरु भएको छ । तर बेलायतमा बनिरहेको एउटा खोपको मात्र तेस्रो तथा अन्तिम चरणको परीक्षण भइरहेको छ।

विश्वका २१६ देश तथा स्वायत्त क्षेत्रमा कोरोनाभाइरस संक्रमण फैलिएको छ । संक्रमितको कूल संख्या एक करोड नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि पाँच लाख नाघेको छ । विश्वभरिका मानिसको जीवनशैली नै परिवर्तन गरिदिने यो भाइरसको खोप बनाउन धेरै देशका वैज्ञानिक तथा औषधि उत्पादक कम्पनी लागिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अहिले विश्वभर कोरोनाभाइरसको १४८ खोप बनाउने प्रयास भइरहेको छ। जसमध्ये १३१ खोप प्रयोगशाला परीक्षण प्रक्रियामा नै पुगेका छैनन् । १७ खोपको भने क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरु भएको छ।

क्लिनिकल ट्रायलमा खोप मान्छेलाई लगाएर परीक्षण हुन्छ । १७ मध्ये बेलायतमा बनिरहेको खोपको मात्र तेस्रो चरणको परीक्षण भइरहेको छ । यो चरणमा एक हजारदेखि १० हजार मान्छेमा परीक्षण गरिएपछि खोप आममान्छेका लागि उपलब्ध हुन्छ।

अहिले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक औषधि कम्पनी अस्ट्राजेनेकाले संयुक्तरुपमा बनाएको खोप मानव परीक्षणको तेस्रो चरणमा छ । यो परीक्षण सफल भए सन् २०२१ सम्ममा बजारमा आउन सक्छ । उक्त कम्पनीले जुन २०२१ सम्ममा २०० करोड खोप बनाउने लक्ष्य लिएको छ।

त्यस्तै चीनको क्यानसिनो बायोलोजिक्स र अमेरिकाको मोडर्ना कम्पनीले त्यहाँको नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टियस डिजिजेजसँग मिलेर विकास गरिरहेको खोप दोस्रो चरणको परीक्षणमा छन् । यो चरणमा एक हजारसम्म मान्छेमा खोप परीक्षण गरिन्छ।

सामान्यतया कुनै पनि रोगको खोप बनाउन १५ वर्षभन्दा बढी समय लाग्छ । तर विश्वभरि कोरोनाविरुद्धको खोप बनाउन जुन गतिमा काम भइरहेको त्यसले सन् २०२१ को शुरुमा वा जुनसम्ममा खोप बन्ने विश्वास गरिएको छ । डब्लूएचओ प्रमुख ट्रेडोस अधनोम घेब्रिएससले पनि एक वर्षभित्रमा खोप बनिसक्ने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी कम्पनी ‘मोडेर्ना’ ले विकास गरेको खोप १६ मार्चमा पहिलोपटक मानव परीक्षण गरिएको थियो । तस्वीरः एपी

भारतमा समेत खोप विकासको काम भइरहेको त्यहाँका स्वास्थ्य मन्त्री डा. हर्षवर्धन सिंहले बताएका छन् । उनका अनुसार त्यहाँ १४ खोपका लागि काम भइरहेको छ । तीमध्ये चार वटा खोप आगामी तीनदेखि पाँच महीनामा प्रयोगशाला परीक्षणमा जानेछ।

विश्वभर १४८ खोप विकासमा काम गर्नेमध्ये पाँच वटा भारतीय कम्पनी हुन् । यीमध्ये गुजरातको जायडस कैडिला कम्पनी पनि खोप विकासमा लागेको छ । यो कम्पनीले सन् २०१० मा भारतमा सबैभन्दा पहिला स्वाइन फ्लुको खोप बनाएको थियो। सन् २०२१ को शुरुसम्ममा भने बेलायत, अमेरिका र चीनले खोप तयार पार्न सक्ने विश्वास गरिएको छ।

यसरी हुन्छ परीक्षण

खोप विकासपछि यसको दुई प्रकारको परीक्षण हुन्छ । पहिलोलाई ‘प्रि–क्लिनिकल ट्रायल’ भनिन्छ । यसमा विकास गरिएको खोप जनावरमा परीक्षण हुन्छ । प्रायः बाँदर र मुसामा यस्तो खोप परीक्षण गरिन्छ।

जनावरमा गरिएको परीक्षण सफल भएको खण्डमा त्यो ‘क्लिनिकल ट्रायल’ का लागि योग्य हुन्छ । यसमा खोप मान्छेमा परीक्षण हुन्छ । तर मान्छेमा तीन चरणको परीक्षण गरिन्छ।

पहिलो चरणमा २० देखि ८० जनामा परीक्षण गरिन्छ । त्यसमा सफल भएपछि दोस्रो चरणमा सयदेखि एक हजार जनामा खोप लगाइन्छ । दोस्रो चरणमा पनि सफल भएपछि त्यसलाई एक हजारदेखि १० हजार जनामा परीक्षण गरिन्छ।

यी सबै प्रक्रिया सफलतापूर्वक सकिएपछि मात्र खोपलाई आमसर्वसाधारणका लागि प्रयोग गर्न उत्पादन अनुमति दिइन्छ । यो एउटा निकै लामो प्रक्रिया हो । तर कोरोनाभाइरसको खोप विकासमा भने तीव्र गतिमा काम भइरहेको छ।

बन्ला त कोरोनाको खोप ?

कोरोनाभाइरको खोप बनाउन विश्वभर प्रयास भइरहे पनि यसमाथि प्रश्न पनि उठ्न सक्छ । कोरोनाभाइरसलाई पनि एक प्रकारको ‘फ्लु’ मानिएको छ । फ्लुको बिरामी सयौँ वर्षदेखि छन् । तर कुनै खोप बन्न सकेको छैन।

त्यस्तै भाइरसबाटै हुने केही खतरनाक रोगका भ्याक्सिन पनि अहिलेसम्म बन्न सकेको छैन । सन् १९८१ मा एचआईभी भाइरस फैलिएको थियो । चार देशकसम्म करोडौं मान्छेको ज्यान लिइसकेको यो भाइरसको खोप वा औषधि अहिलेसम्म बनेको छैन । डब्लूएचओका अनुसार यो रोगबाट अहिलेसम्म साढे तीन करोडभन्दा धेरै मान्छेको ज्यान गइसकेको छ।

योपछि सन् २००२-३ मा चीनमा सार्स फैलिएको थियो । विश्वभर यसका साढे आठ हजार संक्रमित भेटिएका थिए । त्यसमध्ये ७५० जनाको मृत्यु भएको थियो । यो भाइरस चाँडै नियन्त्रणमा आए पनि अहिलेसम्म खोप बनेको छैन ।

सन् २०१५ मा मर्स भाइरस फैलियो । यसबाट ८५० जनाको ज्यान गयो । अझै यो भाइरस पूरै समाप्त भएको छैन । यसको पनि खोप बनेको छैन । केही वैज्ञानिक भने सार्स र मर्सको खोप बनाउन प्रयास त्योबेलादेखि नै प्रयास भइरहेकाले त्यहीकारण कोरोनाभाइरसको खोप चाँडै बन्न सक्ने बताउँछन्।

-दैनिक भाष्करबाट

प्रतिकृया दिनुहोस