ह्वाइट हाउसकै विज्ञ चिकित्सक भन्छन्– अमेरिकामा कोरोनाबाट दैनिक एक लाख संक्रमित हुनसक्छन्
ह्वाइट हाउसले गठन गरेको कोरोनाभाइरस टाक्स फोर्सका सदस्य तथा सरुवा रोग विज्ञ डा. एन्थोनी फाउसीले अमेरिकामा प्रत्येक दिन एक लाखभन्दा बढी संक्रमित हुन सक्ने चेतावनी दिएका छन् ।
त्यहाँको सिनेटलाई उनले अहिले नियन्त्रणको अवस्थामा नभएको जानकारी दिएका छन् । अमेरिकीहरुले मास्क नलगाएको र पर्याप्त भौतिक दूरी पनि कायम नगरेको कारण अवस्था नियन्त्रणमा नरहेको उनले जानकारी दिए ।
सिनेटको स्वास्थ्य, शिक्षा, श्रम र निवृत्तिभरण समितिका सांसदहरुलाई उनले भने, “अहिले प्रत्येक दिन ४० हजारभन्दा बढी नयाँ बिरामी थपिइरहेका छन् । यो बढ्दै गएर एक लाख पुग्यो भने म कुनै आश्चर्यमा पर्दिन ।” उनले करीब आधा संक्रमित चार वटा राज्यका भएको पनि उनले बताएका छन् ।
अेमरिकाका फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्नियामा तीव्र गतिमा संक्रमण फैलिएको र नियन्त्रणबाहिर गइरहेको डा. फाउसीले बताए । त्यहाँका न्यूयोर्क, क्यालिफोर्निया, न्यू जर्सी र टेक्सासमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा संक्रमितको संख्या करीब १० लाख पुगेको छ । अमेरिकामा हालसम्म करीब २७ लाख २८ हजार संक्रमित भेटिएका छन् ।
यसअघि न्यूयोर्कका गभर्नरले यदि उक्त राज्य भ्रमण गरे आधा अमेरिकीलाई क्वारेन्टिनमा राख्नुपर्नेछ । पछिल्लो पाँच दिनमा अमेरिकामा चार दिन ४० हजारभन्दा माथि संक्रमित थपिएका छन् ।
उनले अमेरिकी बजार पुनः खोल्ने योजनाको पनि आलोचना गरे । कम्तीमा १६ राज्यले ‘स्टे एट होम’ आदेश हटाउने वा बजार पुनः खोल्नेबारे पुनर्विचार गर्नुपर्ने उनले बताए ।