समाचार बुधबार, असार १७, २०७७

माधव नेपाल निकट दुई मन्त्री भूसाल र भट्टराईको प्रतिक्रिया सामाजिक सञ्जालमा

हिमालखबर

माधव नेपाल निकट दुई मन्त्री भूसाल र भट्टराईको प्रतिक्रिया सामाजिक सञ्जालमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक संघर्ष उत्कर्षमा देखिएको छ। मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली इतर समूहले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत १७ जनाले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै राजीनामा मागेका थिए। तर, मंगलबारको बैठकमा नबोलेका माधवकुमार नेपाल निकट दुई मन्त्री घनश्याम भूसाल र योगेश भट्टराईले भने सामाजिक सञ्जाल फेसबुक मार्फत् प्रतिक्रिया दिएका छन्।

याे पनि पढ्नुहाेस्ः घेरिए प्रधानमन्त्री, मागियो राजीनामा

कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका स्थायी कमिटी सदस्य भूसालले पार्टी ठूलै संकटको नजिक भएको संकेत सहित धैर्य हुन आग्रह गरेका छन्। भूसालले सवैले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने बेला भएको उल्लेख गरेका छन्।

भूसालले लेखेका छन्, “हाम्रो जहाज महाभूमरीमा हेलिने अनिष्ट संभावना नजिकिन थाल्यो। अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले पनि सम्वादलाई जोड दिन आग्रह गरेका छन्। स्थायी कमिटीमा नबोले पनि मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका हुन्।

भट्टराईले लेखेका छन्, “...एक पटक आफैंलाई हेरौं। अर्कालाई बुझौं। टाढा नजाऔं। नजिक आऊँ। सम्वाद गरौं सम्वाद !” २३ सदस्यीय मन्त्रिपरिषदमा भूसाल र भट्टराई मात्रै नेता नेपाल निकट मन्त्री हुन्।

प्रतिकृया दिनुहोस