ब्लग मंगलबार, असार १६, २०७७

माया त माया हो !

हिमालखबर

माया त माया हो !
जावलाखेल स्थित सदर चिडियाखाना परिसरको सडकमा खिचिएको उषा रजक । तस्वीरःगणेश रोजर्स।

–उषा रजक

गएको १६ जुनमा बन्दाबन्दी अलि खुकुलो भएपछि हामी केही साथी कामका कुरा गर्न भेट्ने तयारीमा थियौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना सामुन्नेको सडकमा हिंड्दै गर्दा इन्द्रेणी रङहरुको कला देखियो । सुन्दर त्यस कलामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजीबीटीक्यू प्लस)को मायाको परिभाषा थियो, जहाँ लेखिएको थियो–लभ इज लभ अर्थात् माया त माया हो।

म टक्क अडिएँ । कलालाई स्वयंलाई प्रेरित गरे झैं लाग्यो । किनभने, मेरा लागि यो समुदाय सदैव सम्मानित रहे । उनीहरुका चिनारीको मुद्दा मलाई कहिल्यै अस्वाभाविक, अनावश्यक लागेनन् । मलाई लाग्छ–सबै असल मानिस समानताका साथ बाँच्न पाउनुपर्छ।

मेरो यही सोच र सडक छेउको त्यो कला–प्रेरणा बुझेर साथी निक मगरले तस्वीरको अवधारणा बनाए । गणेश रोजर्सले सुन्दर भावसहितको तस्वीर खिचिदिए । यो तस्वीर त्यसैमध्येको हो।

यसरी मैले जुन अर्थात् ‘प्राइड मन्थ’ मनाएँ ।

सन् १९६९ मा अमेरिकाबाट थालिएको ‘प्राइड मन्थ’ अहिले विश्वभर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि मनाइने पर्व बनेको छ । मलाई लाग्छ, यो पर्व लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मात्र होइन, उनीहरुको मर्यादा, समानता र आत्मसम्मानलाई साथ दिनेहरुहरुको पनि हो।

हुनत खासगरी गाईजात्रामा सबै मानिस भेषभूषा फेरेर भूत, प्रेत, भगवान् र अनौठा रुप प्रदर्शन गर्छन् । त्यही हूलमा एलजीबीटीक्यू समुदाय पनि मिसिएको र आफ्नो उत्सवका रुपमा गर्व गरेको जस्तो देखिन्छ । तर, त्यसै त समाजमा घुलमिल हुन नपाएका, सजिलै भेदभावको शिकार बनेका यी समुदाय जसरी गाईजात्रामा हास्यव्यङ्ग्यको पात्र झैं देखिन्छन्, मलाई नमज्जा लाग्छ ।

उषा रजक । तस्वीरहरुः उषा रजकको फेसबूकबाट

गाईजात्रामा भूत र भगवान् बीचमा हिंडिदिंदा यी समुदाय कुनै काल्पनिक चरित्र हुन् भन्ने भान दिन्छ । त्यसैले पनि हुनुपर्छ, म गाईजात्रा भन्दा आफू आफूजस्तै स्वीकृत भएर जुलुस निकालिने, ‘प्राइड मन्थ’ वा ‘प्राइड परेड’ लाई मन मनाउँछु ।

८ वर्ष किर्गिस्तान बसेकी म डेढ वर्षअघि नेपाल फर्किएँ । अनि सधैं झैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनपत्र भर्न दौडिएँ । आगमनपत्रको ‘लिङ्ग’ लेख्ने ठाउँमा ‘पुरुष’, ‘महिला’ सँगै ‘अन्य’ पनि देख्दा म खुशीले गदगद भएँ । संसारका धेरै देश घुमेकी म आफ्नै देश यति प्रगतिशील भएको देख्दा हर्षित नहुने कुरै भएन ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानमा नेपालले देखाएको खुलापनलाई विश्वभरि नै प्रशंसा गरिन्छ । संविधानले नै यो समुदायलाई हक र सम्मान दिएको छ । यो पर्याप्त छैन, स्वागतयोग्य भने छ ।

विभेदको कहाली

नीति, कानून बने पनि भए पनि नबदलिएको सामाजिक सोच र व्यवहारले यो समुदायका व्यक्तिहरु अझ पनि कहालीलाग्दो वास्तविकतामा बाँच्न बाध्य छन् । लैङ्गिक पहिचान लुकाएर झूटको सहारामा आफैंलाई गुमनाम राखिरहेका छन् ।

समाजमा आफू कलंकित नहुन, बहिष्कृत वा परिवारलाई लज्जित नबनाउनकै लागि हुनुपर्छ, मैले नजिकबाट चिनेका कतिपय व्यक्तिहरु समलिङ्गी हुँदाहुँदै विपरीत लिङ्गका साथ विवाहित छन् । कति दुःखदायी होला यस्तो कठोर निर्णय ! कति हानिकारक हुँदो हो– आफू र आफूसँग जोडिएकाहरुसँगको सम्बन्ध ।

स्त्री–गुणले भरिएका, केटी जस्तै व्यवहार गर्ने मैले चिनेका एक जना दाइसँग म सानोमा धेरै खेल्थें । किनकि अरुभन्दा उहाँ केटीजस्तै रमाइलो गर्ने, नाच्ने, गाउने, ख्यालठट्टा गर्ने, सिङ्गारपटार गर्ने ।

आज उहाँ भिक्षु बन्नुभएको छ । हामी सबैलाई थाहा छ कि उहाँ आफ्नो यौन झुकावलाई परिवार र समाजले अस्वीकार गरेकैले उहाँले यस्तो निर्णय लिनुभयो । तर, आफन्तहरु भेटघाट हुँदा कुरा गर्छन्– ‘ए अँ ! ऊ त सानैदेखि आध्यात्मिक थियो । राम्रै भयो, भगवान्को बाटो लागेको छ ।’ अप्ठ्यारा कुरा गरेर माहोल किन बिगार्ने भनेर हामी सत्यलाई चियाको घुड्कीसँगै निल्न चाहान्छौं !

किन खुल्दैनन् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय ? यसमा विभेद नै प्रमुख कारण हो । समाजको बहिष्करणकै परिणाम हो । त्यसैले परिचय खुलाएर सामान्य जागिरमा समेत उनीहरुको उपस्थिति देखिन्न ।

कला र सौन्दर्यको क्षेत्रमा पनि यी समुदायप्रति हेयभाव छ । म कार्यरत् चलचित्र ‘कुसुमे रुमाल २’ मा पनि एक समलिङ्गी व्यक्तिको खिल्ली उडाइएको छ । हाम्रा धेरै चलचित्रहरुमा सधैं यी व्यक्तिहरुको अस्तित्व हास्यव्यङ्ग्यमै सीमित गरिन्छ ।

‘हाइवे’, ‘सुनगाभा’ चलचित्र र ‘सिंहदरबार’ टेलिशृंखलाजस्ता केही कृतिमा भने यो समुदायको मर्यादित र सरल चित्रण गरिएको पाइन्छ ।

हामीले बुझ्नुपर्छ, चलचित्र समाजलाई शिक्षा दिने एक माध्यम भएकाले त्यहाँ देखाइएका चित्रणहरुले जनमानसमा ठूलो असर पार्दछ । त्यसैले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गलत चित्रणले समुदायको सामाजिक पहिचान र अधिकारमा ठेस पुग्ने कुरामा सम्पूर्ण चलचित्रकर्मी संवेदनशील हुनुपर्छ ।

सिक्ने कुरा

मेरा लागि रोमाञ्चक अनुभव चाहिं के हो भने, मलाई थुप्रै समलिङ्गी महिलाले विवाह प्रस्ताव गरेका छन् । यस्तो बेला मलाई खुशी लाग्छ किनकि एउटी महिला भएर पनि महिलालाई आकर्षित गर्ने केही क्षमता ममा रहेछ भनेर ।

यस्तो प्रस्तावको जवाफमा जब म आफ्नो अनिच्छा व्यक्त गर्छु तब उहाँहरु सभ्य व्यवहार प्रदर्शन गर्दै आरामले पछि हट्नुभएको छ । कतिपय चलचित्रमा जस्तो यौनको तिर्खाले व्याकुल भएर खासगरी कुनै पुरुष पात्रलाई काँचै खाने प्रवृत्तिको ठीक विपरीत ।

बरु, ‘नाइँ’ भन्दा एकैपटकमा पछि हटेर कसरी सभ्य व्यवहारको प्रदर्शन गर्नुपर्छ, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट धेरै पुरुषहरुले सिक्नसक्छन् । असहमतिको आदर गर्ने यस्तो व्यवहार समाज र खासगरी पुरुषले सिके महिलाहरुलाई सजिलो हुनेछ ।

(उषा रजक अभिनेत्री हुन् ।)

प्रतिकृया दिनुहोस