समाचार मंगलबार, असार १६, २०७७

पाैने ११ कराेड रूपैयाँको स्रोत नखुलेको भन्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर विरुद्ध मुद्दा

हिमालखबर

पाैने ११ कराेड रूपैयाँको स्रोत नखुलेको भन्दै  खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर विरुद्ध मुद्दा

खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत इन्जिनियर राजकुमार शाक्यसँग स्रोत नखुल्ने करिब पाैने ११ कराेड रूपैयाँ बराबरको सम्पत्ति रहेको पाइएपछि अख्तियारले मंगलबार विशेष अदालतमा काठमाडौंमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ।

दायर गरिएको मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ देखिएको भन्दै त्यति नै बराबरको बिगो दाबी गरिएको छ ।

आयोगले इन्जिनियर शाक्य कमिसन नलिई काम नगरेको, आर्थिक वर्ष २०७५/७६ मा करिब एक करोड रूपैयाँ कमिसन असुलेको, ठेकदारहरूसँग ५० लाख रूपैयाँ आफ्नो खातामा राख्न लगाएकोलगाएत आरोपमा अनुसन्धान गरेको थियो। 

शाक्य जिल्ला खानेपानी कार्यालय कञ्चनपुरबाट २ जेठ २०४९ मा ओभरसियर पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०६४ माघ १ गते इन्जिनियर पदमा र २०७२ कात्तिक १० गतेदेखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए । 

अख्तियारले उनी सरकारी सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको अवधिमा एक करोड ६१ लाख ७३ हजार ५६१ रूपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको थियो। तर, सोही अवधिमा उनले सम्पत्ति सिर्जना तथा लगानी गर्नमा १२ करोड ३९ लाख २४ हजार १४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस