रिपोर्ट बुधबार, असार १७, २०७७

श्रीमान्‌काे माया पाउन टाटु

हिमालखबर

श्रीमान्‌काे माया पाउन टाटु
बुझौनी चौधरी (७४) । तस्वीरहरु: उन्नती चौधरी

– उन्नती चौधरी

बेलौरी नगरपालिका–७, कञ्चनपुरकी भलुनी चौधरी (६०) का गोडामा बिहे अघिसम्म कुनै दाग थिएन । बिहेलगत्तै जन्म घर फर्किएपछि उनले मयूरको टीका (टाटु) खोपाइन् ।

थारू जातिमा विवाह गरेको एक सातापछि माइत फर्कने र शरीरका विभिन्न अंगमा कालो टीकाहरू खोपाउने चलन थियो । भर्खर बिहे गरेका लोग्ने धेरै वर्ष बाँच्छन् भन्ने सुनेपछि पीडा सहेर भए पनि भलुनीलाई टीका खोप्ने रहर लाग्यो ।

“टीका खोपेको दुई/तीन घण्टापछि गाईको गोबरले पखाल्नुपर्ने हुन्छ। सुन्निएर रातो भएको गोडामा बेसार र तेल मिसाएर औषधिको रूपमा लगाउनुपथ्र्यो।”

– भलुनी चौधरी

उनी टिकिहिनी (टाटुखोप्ने व्यक्ति) खोज्दै दिनभरि हिंडिन् । साँझ मात्र बल्ल टिकिहिनीको घर फेला पारिन् । उनी भन्छिन्, “नौवटा सियोले टीका खोप्दा कति हो कति दुख्यो । चार/पाँच घण्टासम्म खोपेपछि टीका तयार भयो ।”

खोप्दा जति दुख्छ, त्योभन्दा धेरै पखाल्दा दुख्ने उनी बताउँछिन् । “टीका खोपेको दुई/तीन घण्टापछि गाईको गोबरले पखाल्नुपर्ने हुन्छ । सुन्निएर रातो भएको गोडामा बेसार र तेल मिसाएर औषधिको रूपमा लगाउनुपथ्र्यो”, उनी भन्छिन् ।

भलुनी चौधरी (६०)

टीका खोपेपछि भलुनीका गोडा सुन्निए । उठ्न–बस्न गाह्रो भयो । रातभरि ज्वरो आयो । तीन दिनसम्म टाटुखोप्ने व्यक्तिकै घरमा बसिन् । खोपाएबापत चाँदीको रु.३ तिरिन् । उनका दुईवटै गोडामा मयूर नाच्न थालेको चित्र छन् । गोडा खोपेर घर गएपछि श्रीमान् र सासू, ससुरा खुशी भए। उनी भन्छिन्, “गोडा नखोपाउने विवाहित महिला सुन्दर नहुने र असल बुहारी नमानिने चलन थियो । उसले पकाएको पनि खाँदैनथे।”

घुँडाभन्दा केही तलदेखि र पैतालाभन्दा माथिसम्म खोप्ने चलन थियो । धेरैले मयूरको चित्र खोप्थे, जसलाई प्रेम र यौनको प्रतीकका रूपमा मानिने उनी बताउँछिन् । सोही गाउँकी ७४ वर्षीया बुझौनी चौधरीले पनि मयूरको चित्र खोपाएकी छिन् । हातमा भने फरक/फरक चित्र खोपाएकी छिन्।

“श्रीमान्‌काे माया पाउनको लागि पनि दुखाइ सहेर टीका खोप्ने चलन थियो।”

– बुझौनी चौधरी

उवेला धेरै टाढा अर्को गाउँ गएर गोडा खोपाएको उनी बताउँछिन् । “अरूले खोपेको देख्दा निकै रहर लाग्थ्यो । खोपाएपछि सासूससुराको माया पनि पाइन्थ्यो”, उनी भन्छिन् । उनका अनुसार गोडा खोपाएनन् भने मरेपछि भगवानले पनि हेला गर्छन् भन्ने अन्धविश्वास थियो।

१० वटा सुईलाई बाँधेर एउटै बनाएर टिकिहिनीले उनका गोडा खोपेका थिए। टीका खोपिदिनेलाई उनले चाँदीको रु.४ दिएकी थिइन्। उनी भन्छिन्, “श्रीमान्‌काे माया पाउनको लागि पनि दुखाइ सहेर टीका खोप्ने चलन थियो।”

बेलौरी नगरपालिकामा बुझौनी र भलुनी जस्तै धेरै महिलाले गोडा खोपेका छन्। यसलाई प्रेमको प्रतीकको रूपमा लिइन्थ्यो । श्रीमान् र श्रीमतीमा माया बढ्ने विश्वास थियो । तर पछिल्लो पुस्तामा भने यो चलन निकै कम भइसकेको छ।

बेलौरी नगरपालिकामा बुझौनी र भलुनी जस्तै धेरै महिलाले गोडा खोपेका छन्। यसलाई प्रेमको प्रतीकको रूपमा लिइन्थ्यो । श्रीमान् र श्रीमतीमा माया बढ्ने विश्वास थियो । तर पछिल्लो पुस्तामा भने यो चलन निकै कम भइसकेको छ।

संस्कृतिविद् अशोक थारू भने वीरताको प्रतीक स्वरुप गोडा खोप्ने चलन शुरू भएको बताउँछन्। लाखी गाथामा उल्लेख भएबमोजिम घोर्से मगर राजाले युद्धमा अनेक प्रयास गर्दा पनि पराजय भोगे । महिला सेनापति लाखीलाई युद्ध मैदानमा ल्याए जित्न सकिने निष्कर्षमा पुगेपछि उनले पुनः युद्धको तयारी गरे।

सेनापति लाखीले शत्रु सेनालाई हराइन् । यही खुशीमा विरोधीको रगतले घुँडाभन्दा तलको भाग सजाइन् । त्यसैको सम्झनामा टाटु खोप्ने चलन शुरू भएको उनी बताउँछन्।

यसरी बनाइन्थ्यो रंग

एकपटक टीका खोपेपछि जीवनभर रहन्छ । टीका खोपिने रङ घरैमा बनाइन्थ्यो । त्यसका लागि मट्टीतेलको टुकी बालेर कालो मोसो बनाइन्थ्यो । मोसोमा हुक्काको पानी मिसाएपछि रङ बन्थ्यो । त्यही रङले पहिला टीका खोप्ने ठाउँमा चित्र कोरिन्थ्यो । अनि सुइयोले गोडा र हातमा बुट्टा खोपिन्थ्यो।

टीका खोपेको कुनै मूल्य नतोक्ने र खुशीले जति दिए त्यति लिने गरेको भलुनी बताउँछिन् । कोही टिकिहिनीका लागि घरबाट मीठो मीठो खानेकुरा पनि पकाएर लैजान्थे। तर अहिले टीका खोपिहाले पनि मेशिन प्रयोग गर्ने चलन छ । मेशिनले खोपेको चित्र पहिलाको भन्दा राम्रो हुने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस