शेयर बजारमा उछालपछि मंगलबारको कारोबार बन्द
शेयर बजारमा मंगलबार उछाल आएपछि कारोबार बन्द गरिएको छ । नेप्से परिसूचक ६ प्रतिशतभन्दा धेरै बढेपछि कारोबार शुरु गरिएको करीब दुई घण्टामै बजार बन्द गरिएको हो।
कारोबार खुल्ने बित्तिकै बजार बढ्न शुरु गरेको थियो । एक घण्टा नपुग्दै ४ प्रतिशतले बजार बढेपछि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पनि बजार बढ्ने क्रम थामिएन र ५ प्रतिशतले उकालो चढ्यो । सर्किट ब्रेकर लागेर बन्द भएको बजार खुलेपछि पनि उकालो चढेर ६ प्रतिशत नाघेपछि मंगलबारका लागि कारोबार स्थगित गरिएको हो।
मंगलबार नेप्से परिसूचक ७२.०५ अंकले बढेर १ हजार २६०.७५ विन्दुमा पुगेको छ । १३४ कम्पनीका रु. २२ करोड ७२ लाख मूल्य बराबरका ४ लाख ८९ हजार कित्ता शेयर किनबेच भएका छन्।
सबैभन्दा धेरै नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टका लगानीकर्ताले १०/१० प्रतिशत नाफा कमाए।
मंगलबारको कारोबारमा सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ताले ९.९४ प्रतिशत र ओरियन्टल होटलका लगानीकर्ताले ९.७३ प्रतिशत गुमाए।
होटल र म्युचुअल फण्ड बाहेक अरु सबै समूहका उपसूचकहरु सकारात्मक भएका छन् । होटल समूह ३.१३ प्रतिशत र म्युचुअल फण्ड उपसमूह ०.३३ प्रतिशतले घटे।
सबैभन्दा धेरै जीवन बीमा समूह ९.४१, व्यापार समूह ८.३२ र वाणिज्य ब्याङ्क समूह ७.२५ प्रतिशतले बढेका छन्।
शेयर बजार लामो समय बन्द भएर सोमबार खुलेको थियो । सोमबार नेप्से परिसूचक १२.७८ अंकले घटेको थियो।