समाचार मंगलबार, असार १६, २०७७

संसद् दिवस : मध्यरातमा बसेको थियो पहिलो संसद्‌को पहिलो बैठक

हिमालखबर

संसद् दिवस : मध्यरातमा बसेको थियो पहिलो संसद्‌को पहिलो बैठक
संघीय संसद्‌को पुस्तकालयमा पहिलो संसद्‌को अभिलेख । तस्वीर: बिक्रम राई

आज १६ असार अर्थात् संसद् दिवस । नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको थियो। १६ असारलाई संसद् दिवसको रुपमा मनाउने गरिएको छ।

पहिलो निर्वाचित संसद्‌को पहिलो बैठक १६ असार २०१६ काे मध्यरातमा शुरु भएको थियो । संघीय संसद् सचिवालयको अभिलेख अनुसार राजा महेन्द्रले प्रतिनिधिसभाको बैठक रातको ११:४५ बजेका लागि आह्वान गरेका थिए।

संसद् सचिवालयको पुस्तकालयमा पहिलो संसदको काम-कारबाही सम्बन्धी विवरण (भर्बेटियम) राखिएको छ । जस अनुसार, पहिलो दिनको बैठकमा सभामुख चयन नभएसम्मका लागि गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष तोक्ने पत्र पढेर सुनाइएको थियो । गुल्मी उत्तरपूर्व क्षेत्र नम्बर ८९ बाट सांसद निर्वाचित बुढाथोकीलाई संसद् बैठकको अध्यक्षताका लागि प्रमुख सचिव हंसमान सिंहले शपथ ग्रहण गराएका थिए। 

पहिलो दिनको बैठकले १८ असारको दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने तय गरेको थियो । १८ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पहिलो संसद्का सभामुख चयन भए।

यो पनि पढ्नुहोस्- संसद् सचिवालयमा ६० वर्षका विवरण 

त्यतिवेला संसद्‌मा लिखित भाषण पढ्न नपाइने व्यवस्था थियो । सचिवालयको अभिलेखहरुमा उल्लेख भए अनुसार, राष्ट्र भाषा नेपाली भएकाले त्यही बोल्नुपर्ने र नेपाली भाषा नआउने भए सिकुञ्जेलका लागि भने हिन्दी बोल्न पाउने व्यवस्था थियो।

सभामुख र राष्ट्रियसभा अध्यक्षको शुभकामना

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

संयुक्त रुपमा जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, "जनताका प्रतिनिधि मार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रुपमा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ, यो संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य-मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्नुपर्छ।"

१६ असारलाई संसद् सचिवालयले अघिल्लो वर्षहरुमा विभिन्न औपचारिक कार्यक्रम गरेर मनाउँथ्यो । यस पटक भने कोरोनाभाइरस महामारीका कारण औपचारिक कार्यक्रम नगरिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस