समाचार सोमबार, असार १५, २०७७

एमसीसी संसदबाट अनुमोदन नभएको जानकारी छ, तर कोष सधैं उपलब्ध हुँदैन: अमेरिकी दूतावास

हिमालखबर

एमसीसी संसदबाट अनुमोदन नभएको जानकारी छ, तर कोष सधैं उपलब्ध हुँदैन: अमेरिकी दूतावास

नेपालस्थित अमेरिकी राजदूतावासले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको संसदबाट पास नभएकोबारे अमेरिका जानकार रहेको भन्दै कोष सधैं उपलब्धता सँधै खुला नरहने चेतावनी दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले एमसीसी लिने नलिने अधिकार नेपाललाई भएको बताएको हो ।

"एमसीसी नेपालको संसद्बाट अनुमोदन भइनसकेको बारेमा अमेरिका जानकार छ । दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको र नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अघिल्लो कदम अनुमोदन हो," दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै २ करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमा बढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो । यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला रहँदैन ।"

दूतावसाले यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी रहेको जनाएको छ । यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक मर्मतसम्भारका क्रियाकलाप नेपालीलाई प्रत्यक्ष रूपमा फाइदा गर्ने दूतावासको भनाइ छ । 

"एमसीसीको सहयोग प्राप्त हुने यी परियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो," अमेरिकाले नेपालका लाखौं मानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने दाबी गर्दै दूतावासले भनेको छ।

एमसिए नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ।’

प्रतिकृया दिनुहोस